आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सुधारमा केन्द्रित हुन सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
आज बिहान बालुवाटारमा आयोजित विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजूद विश्वविद्यालयके आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन भन्नुभएको हो ।
'राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगत्मा प्रशस्त दृष्टान्तहरू छन्', प्रधानमन्त्रीले भन्नुभयो, 'तसर्थ, विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत म यहाँहरूको ध्यानआकृष्ट गराउँछु ।’
अनुसन्धानलो क्षेत्रलाई देशको आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयहरूलाई उच्च प्राथमिकतामा राखेर दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ विश्वविद्यालयले भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीको जोड छ ।
टिप्पणीहरू