कर्मचारीलाई डर छैन, प्रधानमन्त्रीलाई भर छैन

कर्मचारीलाई डर छैन, प्रधानमन्त्रीलाई भर छैन

भन्सारका कर्मचारीलाई डर भएन, प्रधानमन्त्रीलाई प्रहरीको भर भएन । विमानस्थलबाट पार भई बाहिरबाट बरामद भएको एक क्विन्टल सुनको मामिला हो यो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा १ सय ७० कर्मचारी, उत्तिकै प्रहरी र गुप्तचरको लस्कर छ । तर, सर्वसाधारणले आधा ग्राम बढी सुन बोक्दा समातिने त्यही विमानस्थलबाट आरामसँग एक क्विन्टल सुन कसरी पार भयो ? अहिले यो प्रश्न जटिल बनेको छ । गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसरी सुन पास भएपछि भन्सार कर्मचारीहरू धमाधम अनुसन्धानको दायरामा तानिँदैछन् ।

तर, अन्य निकायका हकमा के हुन्छ ? केही पत्तो छैन । बरु, यो घटनाको अनुसन्धान गर्ने सन्दर्भमा प्रहरीको भर नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राजश्व अनुसन्धानलाई छानविन अगाडि बढाउन निर्देशन दिनुभएको अर्थका हाकिमहरू बताउँछन् । यसरी छानवीन गर्ने जिम्मा पाएको राजश्व अनुसन्धान प्रधानमन्त्री कार्यालयमातहतकै निकाय हो ।

प्रहरीले बालुवाटारको ललिता निवास प्रकरणमा हाकिमको आदेशमा टिप्पणी लेख्ने तल्लो तहका भएभरका कर्मचारीलाई दोषी भन्दै पक्राउ गर्ने तर त्यसमा संलग्न सारा मारवाडी व्यापारीलाई विदेश भाग्न दिएर माथिल्लो तहका हाकिमलाई छाडिदिने काम भएपछि प्रधानमन्त्री प्रहरीप्रति सशंकित हुनुभएको बताइन्छ । यद्यपि, राजश्व अनुसन्धानले आफ्नो काममा सघाउनका लागि प्रहरी प्रतिनिधि माग गरेबमोजिम एउटा टोलीलाई यो काममा खटाइसकिएको छ ।

यसअघि पनि यही किसिमबाट २२–२४ पटक सुन ल्याएको भनिएको छ । यो काम कसले गरेको भन्ने कुराको प्रधानमन्त्रीलाई सामान्य सूचना पुगेको छ । त्यसरी ल्याइएको सुन नेपाली बजारमा खपत हुने हैन । यहाँबाट सीमापार अर्थात् भारत जाने हो । भनिन्छ, प्रविधिले यस्ता घटनाको अनुसन्धान गर्न नसक्दासम्म केही हुँदैन । किनभने, तस्करहरू कर्मचारीभन्दा अगाडि हुन्छन् । प्रविधिको प्रयोगमा पनि उनीहरूलाई नेपालका कर्मचारीले भेट्न मुश्किल छ । नेपालको विमानस्थलसँग भएको प्रविधि भनेको जम्माजम्मी एक्सरे मेसिन हो, त्यसमा सामानको रंग देखिन्छ, सुन हैन ।

टिप्पणीहरू