चिनियाँ पाहुना टोलीले भोलि स्वदेश फर्कनुअघि एमाले अध्यक्षसँग भेटवार्ता गर्ने
नेपालको भ्रमणमा रहेको चीनको उच्चस्तरीय पाहुना टोली भोलि मध्यान्ह काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छन्तु जाने भएको छ । नेपालको तीन दिने भ्रमणमा हिजो बिहान श्रीलंकाको कोलम्बोबाट आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु सम्मिलित टोली भेटघाटमा व्यस्त देखिन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चोङछिङ शहरका प्रमुख एवम् सचिव युआन च्या च्युन नेतृत्वको टोली आज बिहान कलंकीस्थित एलआरआई विद्यालय भ्रमणको क्रममा त्यहाँ पुगेको छ ।
युआन नेतृत्वको टोलीले हिजो अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेको थियो । साँझ ५ बजे सिंहदरबार पुगेर कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग कुराकानी गरेपछि टोली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्तामा सरिक भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली आज राति कम्बोडियाबाट फर्केपछि चिनियाँ पाहुना टोलीले भोलि बिहान उहाँसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइन्छ ।
टिप्पणीहरू