एमाले अध्यक्षको पर्यवेक्षण,विपक्षीमाथि दमन
कम्बोडियाको आमनिर्वाचनमा प्रधानमन्त्री हुन सेनको दलले अत्यधिक बहुमत ल्याएको छ । हिजो सम्पन्न चुनावमा हुन सेनको कम्बोडियन पिपुल्स पार्टीले पुनः विजय हासिल गरेको छ ।
निर्वाचनमा विपक्षी नेता र दललाई दमन गरिएको आरोप लागेको छ । हिजोको चुनावी परिणामले लोकतन्त्रको खिल्ली उडाएको पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन् ।कूल मतादातामध्ये ८४ दशमलव ६ प्रतिशत मतदान भएको बताइएको छ । खसेको ८० प्रतिशत मत प्रधानमन्त्रीको दललाई प्राप्त भएको छ ।
प्रधानमन्त्री हुन सेन सन् १९८५ देखि सत्तामा छन् । पूर्व खमेर रुज गुरिल्ला हुनले अब आफ्ना जेठा छोरा तथा वर्तमान सेना प्रमुख हुन मानेटलाई सत्ता हस्तान्तरण गर्ने योजना बनाएको जनाइएको छ ।
कम्बोडियाको निर्वाचनमा पश्चिमा मुलुकबाट कुनै पनि पर्यवेक्षक टोली सहभागी भएनन् । नेपालका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पाकिस्तानसहित केही अफ्रिकी मुलुकका टोलीबाट मतदानको पर्यवेक्षण भएको थियो ।
टिप्पणीहरू