मन्त्रीले नै कसैले टेर्दैन भनेपछि कसको के लाग्छ ?

मन्त्रीले नै कसैले टेर्दैन भनेपछि कसको के लाग्छ ?

२ महिना ७ दिन खानेपानी मन्त्रालयको नेतृत्व गर्दा सिंहदरबारभित्र जार, बोतलको पानी निषेध गरेर चर्चामा रहे अब्दुल खान । उनी मन्त्रीबाट बाहिरिएसँगै उक्त निषेधाज्ञा ‘पानीको फोको’ बन्न पुगेको छ । जनमत पार्टीलाई फेरि सत्तामा लैजाने तयारी छ । संघीय मामिला तथा सामान्य प्रशासन वा पर्यटन नभई अन्य विकासे मन्त्रालयमा उसले दावी गरिरहेको छ । पब्लिक हेल्थ स्नातक उत्तीर्ण, ०८ सालदेखि जनमत पार्टीमा सक्रिय खान १६ पटक गिरफ्तारीमा परेको बताउँछन् । एनजीओ तथा आईएनजीओको जागिर छोडेर राजनीतितिर लागेका ०६९ सालमै सिके राउतद्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । ०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ गरी ६ सिट जितेर संसद्को आठौँ दल बनेको जनमत पार्टीको उपाध्यक्ष रहेका उनैलाई सरकारमा पठाउने तयारी रहेको बताइन्छ । 

– हरि गजुरेल 

जनमत पार्टी पनि सत्ताकेन्द्रित राजनीतिमा लाग्यो, अरू दलभन्दा खासै फरक भएन भनिँदै छ । कुरा के हो ?

– जनताका लागि काम गर्न सरकारमा जानै पर्छ । प्रतिपक्षी बेञ्चमा बसिसकेपछि सदनमा आफ्नो कुरा चर्काेसँग राख्ने मात्रै हो । विकास निर्माणका काम सत्ताभन्दा बाहिर बसेर गर्नै सकिन्न । 

खानेपानीमन्त्रीबाट किन बाहिरिनुभएको, अनि अहिले फेरि किन सत्तामा जान खोज्नुभएको, यो सत्ताकेन्द्रित राजनीति भएन र ? 

– हत्तेरिका ! सत्ताकेन्द्रित राजनीति गरेको भए कसैले एक घण्टामा राजीनामा दिन्थ्यो ? कतिपय दल र नेता मन्त्री खानकै लागि लाइन लागेका हुन्छन् । 

मधेश प्रदेशको मुख्यमन्त्रीमा तपार्इंहरूकै दाबी थियो, जसपालाई किन छाड्नुभएको ? 

– जनमत र जसपाबीच त्यहाँका मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो । त्यहीअनुसार जसपाबाट सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ । त्यहाँ एक जना मन्त्री र दुई जना विना विभागीयसहित हाम्रो सहभागिता कायमै छ । 

संसदीय अभ्यास गर्न थाल्नुभएको ६ महिना बित्यो । कसरी चलेको रहेछ, हाम्रो संसद ?

– जुन हिसाबले चल्नुपर्न, नियम कानुन पास हुनुपर्ने र जनताको काम कारबाही अगाडि बढाउनुपर्ने हो सोअनुसार केही पनि भइरहेको छैन । सदनमा धेरै कुरा त्यहाँ उठ्छन् तर सरकार आफ्नै हिसाबले चलाउन खोज्दा तालमेल मिल्दैन । त्यही लय नमिल्दा बजेटमा तटस्थ बसियो । संसदको मर्यादा, गरिमा, सार्वभौम हुनुपर्ने कुरामा धेरै कमीकमजोरी छन् । त्यसलाई सच्याउँदै लैजानुपर्छ । 

जनमत पार्टीले अब के गर्छ ? 

– जनतालाई केन्द्रविन्दुमा राखेर, काम गर्नका निम्ति सरकार, सदन, सडक जहाँ आवश्यक हुन्छ त्यहाँ हाम्रो पार्टी उभिन तयार छ । पहाड, मधेश, तराई सबैतिर ठाउँमा संगठन निर्माण गर्ने लक्ष्य छ । 

खानेपानी मन्त्रालयमा २ महिना रहँदा के–के गर्नुभयो ? 

– राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, विश्वासको मतदेखि अनेकन वाधा, अड्चन थिए मैले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा । त्यो समयमा न त सरकारले रकमान्तर गर्दथ्यो न त पूरक बजेट नै दिएको थियो । सोचेअनुसार, चाहना भएबमोजिम काम गर्न पाइएन । यद्यपि, सर्वसाधारणका लागि खानेपानीको धारा जडानदेखि मेलम्चीको सुधार, विभिन्न ठाउँमा कल वितरणदेखि योजनाको निरीक्षण, डिपिआर निर्माणलगायत काम शुरु भएको थियो । हामी नयाँ दल, ६७ दिनको समय त कुरा बुझ्दैमा जाने रहेछ । त्यस्तो प्रतिकूल समयमा समेत सबै नेपालीलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्तगरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार काम शुरु भयो । त्यसको शुरुवात मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै गर्न खोजियो । त्यसपछि विभिन्न सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताललगायत स्थानमा सार्वजनिक धारा राख्ने योजना थियो ।

सिंहदरबारमा मात्र दैनिक ६ लाख २० हजार रूपैयाँको जार र बोतलको पानी खपत हुने गरेको एउटा तथ्यांक सार्वजनिक भएको छ । तपार्इं मन्त्री हुँदा जारको पानी निषेध गर्नुभएको थियो तर मन्त्रीबाट हटेलगत्तै निर्णय उल्टियो । कस्तो लाग्दै छ ? 

– हामीकहाँ केयुकेएल, नेपाल खानेपानी संस्थान, मेलम्चीलगायत सरकारी संस्था छन् तर सिंहदरबारमा दैनिक चार हजार कार्टुन बोतल र चार हजार जार पानी खपत हुने रहेछ । यो पानी नेपाल बोतल वाटर खानेपानी संघअन्तर्गतका उद्योगले उपलब्ध गराउँदै आएका थिए । यसनिम्ति मासिक झण्डै दुई करोड खर्च हुन्छ । यस्तो भएपछि सिंहदरबारमा निजी कम्पनीका बोतल र जारको पानी बेच्न बन्देज लगाएर सरकारी निकाय केयुकेएलमार्फत नै सरकारी धारा, ट्यांकर र जारको पानी पिउनुपर्ने व्यवस्था गरिएको थियो । मन्त्री, प्रधानमन्त्री सबैलाई कन्भिन्स गरेर, सिंहदरबारभित्र सरकारको पानी खाऊँ भन्ने आग्रह गरँे । मन्त्रालयमा सुधार भयो । सिंहदरबारमा पानी पनि आयो । सिंहदरबारभित्रै चार÷ पाँच वटा पब्लिक धारा जडान भए । तर, म मन्त्रीबाट हटेको केही समयपछि नै ती धारा बिग्रिएको छ, अहिले पानी नै आउँदैन । साह्रै पीडा लागेर अहिलेका खानेपानी मन्त्री महेन्द्र यादवसँग कुरा राखेँ । तर, उहाँहरूले भन्नुभयो, ‘कसैले टेर्दैन, मैले के गर्ने ?’ एउटा मन्त्रीले थालेको सुधारको कामलाई अर्काे मन्त्रीले निरन्तरता दिन नसक्ने, बीचमै तुहाइदिनुभएपछि कसरी हुन्छ देशको विकास ? 

मेलम्ची खानेपानी परियोजनाका मुख्य समस्या के–के रहेछन् ? 

– प्राकृतिक विपत्तिका अगाडि हाम्रो के जोर चल्छ र ? गत वर्षको बाढीले मेलम्चीमा क्षति ग¥यो, ड्याम पुरियो र भत्कियो । त्यहाँबाट पर्याप्त पानी ल्याउन अहिले सम्भव छैन । तत्काल अस्थायी ड्याम बनाउन जरुरी छ । त्यहाँ सानो ड्याम बनाउन कम्तीमा तीनदेखि चार महिना लाग्छ । सुरुङको क्षमता ५१ हजार लिटर छ, त्यसमा यांग्री र लार्केलाई जोड्न डेढदेखि दुई वर्ष लाग्छ । यो वर्ष त्यसको डिपिआर हुन्छ कि ? प्रतिदिन ५०÷५१ हजार लिटर पानी खसालेर काठमाडौं भिœयाउन सकेमा काकाकुल काठमाडौंलाई पानीको अभाव हुँदैन । यस्तै सिस्नेरीमा डिपिआरको काम भइसकेको छ ।

मन्त्री हुँदा कर्मचारीले कत्तिको दुःख दिए, रिंग्याए ? 

– भनिन्छ, जस्तो मादल बज्छ, उस्तै नृत्य हुन्छ । मन्त्री जस्तो हुन्छन्, कर्मचारीले त्यहीअनुसार व्यवहार गर्छन् । खानेपानी मन्त्रालय चौथो तलामा छ । त्यहाँ आउने सेवाग्राहीलाई माथि उक्लन सकस छ । कर्मचारीलाई दुई÷तीन पटक लिफ्ट बनाउन निर्देशन दिँए, बन्यो । यस्तै जनताका लागि कल सेन्टरको व्यवस्था गरौं भनेर एक दुईचोटि आग्रह गरँे । खानेपानीमा जनताको कहाँ, क–कस्तो समस्या छन् गुनासो टिपाउनका लागि हट लाइन नम्बर सार्वजनिक गरियो । सिंहदरबारभित्रै धारा जडान गर्ने कुरा गरे, चार÷पाँच पटक आग्रह गरेँ । धारा जडान भयो पनि । मन्त्रीले चाहेको खण्डमा कर्मचारीले साथ नदिने कुरै छैन, मज्जाले दिन्छन् । केही कर्मचारी खराब होलान्, सबै बदमाश छैनन् । 

खानेपानी महसुल बोर्डमा बाबुराम भट्टराईको ज्वाइँ जेकेन्द्रलाई नियुक्त गर्ने तयारी तपाईंकै समयमा भएको हो कि पछि ? 

– महसुल बोर्डको अध्यक्ष हुनका लागि इञ्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्र वा वित्तीय व्यवस्थापनतर्फ कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित सार्वजनिक संस्थामा जिम्मेवारी लिई कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने मापदण्ड थियो । तत्कालीन अध्यक्षको योग्यता, क्षमता, विज्ञता मापदण्डअनुसार नभएपछि उनलाई हटाउनका लागि टिप्पणी उठाई प्रतिष्पर्धा गराएरै नयाँ प्रमुख ल्याउने तयारी थियो । उहाँलाई हटाइएपछि को आयो, मलाई केही जानकारी छैन । 

जनमत सरकारमा जाने करिब निश्चित छ । मन्त्रीको दाबेदार तपाईंं नै हो वा अरू कोही ? 

–आफूलाई आफैंले कसरी दावेदार भनौं ? मैले २ महिना ६ दिनमात्र खानेपानी मन्त्रालयमा काम गरें, अघिल्लो पटक । सोही कारण पनि मेरो दावेदारी स्वभाविक हो । पार्टीले अरूलाई पठाउँछ वा मलाई नै दिन्छ अहिले नै भन्न सकिन्न । यद्यपि, मेरो पनि सम्भावना छ । 

जनमतले पहिला उद्योग मन्त्रालय मागेकोमा खानेपानी मन्त्रालय दिइएको थियो । अहिले सामान्य प्रशासन वा पर्यटन मन्त्रालयमा तपाईंहरूको दावी भनिँदै छ, कत्तिको सत्य हो ? 

– जनतासँग सिधा सम्पर्क हुने, विकासे मन्त्रालय दिनुहोस् भनेका हौं । शहरी विकास, कृषि, उद्योग, जलश्रोतलगायत मन्त्रालय पाए हुन्थ्यो भन्दै आएका हौं । सरकारले पहिला त मन्त्रीलाई फिर्ता बोलाउनुप¥यो । पहिला मन्त्रालय खाली भएपछि न को जाने भन्ने कुरा हुन्छ । अहिले नै यो वा त्यो मन्त्रालय भनेर पनि हुँदैन । गठबन्धनको सरकार छ, प्रधानमन्त्रीको आफ्नै बाध्यता र समस्या होलान् । मन्त्रीलाई फिर्ता बोलाउन पनि भनेजस्तो सहज छैन ।

कतिपय मानिस सिके राउतले पनि उपेन्द्र–राजेन्द्रहरूकै पदचाप पछ्याउँदै छ भन्दै छन्, कुरा ठ्याक्कै त्यस्तै हो त ? 

– पार्टी अध्यक्ष राउत आफैं सरकारमा सामेल हुने अवसर हुँदाहुँदै पनि मलाई पठाउनुभयो । यो कुराले नै स्पष्ट पार्छ कि, उहाँ उपेन्द्र, राजेन्द्र, महन्थजस्तो लोभी र कुर्सी खोज्ने व्यक्ति होइन । सिके राउत अमेरिकाको सुख शयल र करोडौंको जागिर छोडेर आउनुभएको हो जबकि उपेन्द्र, राजेन्द्रलगायत नेता पैसा कमाउनकै लागि सरकारमा आउनुभएको छ । उहाँहरू कुनै पार्टीबाट फुटेर आउनुभएको हो । सिके राउतले आफ्नो पार्टी, आफैं निर्माण गर्नुभएको हो ।

अहिले उदाएका नयाँ दल रास्वपा हुन् वा जनमत दुबैमाथि विदेशीनिकट भएको आरोपको कसरी खण्डन गर्नुहुन्छ ? 

– हाम्रो पहुँच कुनै विदेशीसँग छैन, बरु हामीलाई आरोप लगाउने दलहरूकै विदेशी निकायसँग पहुँच छ, उनीहरू नै परिचालित हुन् । 

मधेसी दलको भविष्य कस्तो देखिँदै छ ? 

– कुनै समय ५० सिट, २० सिटका मालिक हुन्थे त्यहाँ । अहिले उनीहरूको हरिबिजोग छ ४ सिटमा खुम्चनुपरेको छ । जनताबाट तिरस्कृत हुँदै छन् मधेसी दलहरू । अब मधेशमा जनमत पार्टीकै हालिमुहाली हुन्छ ।
 

टिप्पणीहरू