मलाई प्रधानमन्त्री बनाएको अहिलेका प्रतिपक्षीहरुले हो, प्रितमले होइन : प्रधानमन्त्री

मलाई प्रधानमन्त्री बनाएको अहिलेका प्रतिपक्षीहरुले हो, प्रितमले होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रमुख प्रतिपक्षीमा भएका दलहरूले नै राष्ट्रपतिलाई पत्र लेखेर आफूलाई प्रधानमन्त्री बनाएको बताउनुभएको छ । 

प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर एमालेले संसद् बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपतिलाई लेखेको पत्रको अवहेलना हुनेगरी आफूमाथि प्रश्न उठाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले दुःखसमेत व्यक्त गर्नुभयो । 

‘मलाई प्रधानमन्त्री कसले बनायो, नेपालमा कसले बनाउँछ भनेर प्रश्न उठ्यो । यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै भाव र तरंग पैदा भए’, प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले यो प्रश्न प्रतिपक्षी दलका नेताहरू जसले पहिलोपटक लिखित रुपमा प्रधानमन्त्री बनाउनुभयो उहाँहरुबाट नै आएको देख्दा म गम्भीर भएको छु ।’

आफ्नो जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह कुनै शक्ति केन्द्र नभई सामान्य व्यक्ति भएको र उनले दिल्ली गएर कसैलाई प्रधानमन्त्री बनाउन नसक्ने पनि प्रष्ट पार्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले आफूले पुस्तक विमोचन कार्यक्रममा गरेको सम्बोधनमा भन्न नपर्ने कुरा बोलिएको स्वीकार पनि गर्नुभएको छ । ‘मलाई त्यो कुरा भन्नुपर्ने थिएन । नभने हुन्थ्यो । जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनेँ । के मैले राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो?,’ उहाँको प्रश्न छ ।

टिप्पणीहरू