टिंकर नाका खुलाइदेऊ न सरकार !

टिंकर नाका खुलाइदेऊ न सरकार !

नेपाल र चीन जोड्ने टिंकर नाका खोल्न माग गर्दै दार्चुलाका स्थानीय व्यवसायीको डेलिगेशन दोस्रोपटक काठमाडौँ पुगेको छ । दुई महिनाअघि व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी नेतृत्वको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र सचिव, वाणिज्य सचिवसहित राजनीतिक र प्रशासनिक नेतृत्वसँग भेटघाट गरी नाका खोल्न माग गरेको थियो । दुई महिनासम्म पनि कुनै सुरसार नभएपछि व्यासक्षेत्रका आधा दर्जन व्यवसायी दोस्रोपटक राजधानी पुगेका छन् । 

दुई महिनाअघि गाउँपालिका अध्यक्ष नेतृत्वको डेलिगेशनले काठमाडौँमा भेटघाट गरेलगत्तै तातोपानी, रसुवागढी र हिल्सा नाका खुलेको थियो । केही दिनभित्रै टिंकर नाका पनि खोलिने मौखिक आश्वासन पाएका दार्चुलावासी निराश छन् । 

परम्परागत रुपमा दशकौंदेखि टिंकर नाका भएर दार्चुलाका स्थानीय व्यापारीले ताक्लाकोट शहरमा व्यापार व्यवसाय गर्दै आएका थिए । कोभिड महामारीले अन्तर्राष्ट्रिय नाका बन्द भएपछि ४ वर्षदेखि टिंकर नाका ठप्प छ । 

आफूहरू टिंकर नाका खुलाउनकै लागि दोस्रोपटक काठमाडौँ आइपुगेको छाङरुका स्थानीय योगेश सिंह बोहराले बताउनुभयो । चार दशकभन्दा बढी समयदेखि व्यापार गर्दै आएका दिपकसिंह बोहराको नेतृत्वमा ७ जनाको टोली काठमाडौँ आइपुगेको हो । सोमबार मात्रै नेता दिलेन्द्रप्रसाद बडूसहित व्यवसायीहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेको छ । फोनबाटै भए पनि नाका तत्काल खुलाउन गृहमन्त्रीसँग अनुरोध गरिएको एक व्यवसायीले बताए । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा निस्किसकेका छन् । 

आफूहरूको मुख्य पेशा व्यापार व्यवसाय भएकाले जीविकोपार्जनमा समेत समस्या भइरहेको व्यवसायी विमलकुमार बोहराले बताउनुभयो । ‘तीनवटा नाका खोलिएका छन्, चीनको ताक्लाकोट बजार जोड्ने हिल्सा नाका सञ्चालन भइरहेको छ तर त्यही बजार जोड्ने टिंकर नाका खोल्न ढिलाइ हुँदा हामी थप समस्यामा परेका छौं ।’

व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । तिब्बत सरकारअन्तर्गत आली प्रिफेक्चरमा रहेको वैदेशिक मामिला कार्यालयलाई समेत नाका खुलाउन अनुरोध पत्र पठाएको धामीले बताउनुभयो । 

टिंकर नाका नजिकै छियालेक क्षेत्रमा नेपाल प्रहरीको सीमा चौकी भने जेठ पहिलो सातादेखि सञ्चालनमा ल्याइएको डिएसपी तर्कराज पाण्डेयले बताउनुभयो । ‘असार पहिलो साता म आफै १ नम्बर पिलर पुगेर फर्किएको छु, शान्तिसुरक्षाको अवस्था सामान्य छ तर नाका भने खुलिसकेको छैन’ उहाँले भन्नुभयो । 

छियालेकमा सशस्त्र प्रहरीको बिओपी पनि स्वीकृत भइसकेको छ तर सुरक्षाकर्मी भने पठाइएका छैनन् । असार ५ गते मात्रै सशस्त्रका डिएसपी ईश्वरीदत्त भट्टको नेतृत्वमा १५ जनाको टोलीले नेपाल चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको थियो । 

 
 

टिप्पणीहरू