कतै घर उपहार, कतै गुट्खामाथि प्रहार

कतै घर उपहार, कतै गुट्खामाथि प्रहार

मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई २ कोठाको घर उपहार दिनेगरी वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । 

यो अनौठो प्रकारको कार्यक्रम बार्षिक नीति तथा कार्यक्रम पारित भएसँगै आलोचना पनि शुरु भएको छ । त्यसो त राक्सिराङ गाउँपालिकाको लागि यो कार्यक्रम ल्याउनुपर्ने बाध्यताजस्तै पनि बनेको थियो । गाउँपालिकाबाट बसाइँ सरी जाने परिवारको संख्या दिनानुदिन बढ्दो छ । सशस्त्र द्वन्द्वकालमा त यति धेरै परिवारले गाउँ छाडे कि नजिकैको मनहरी गाउँपालिकामा आधा समय बिताउँथे भने आधा समय राक्सिराङ गाउँपालिकाका साविक गाविसहरुमा रहेका पुराना घर पुग्थे । 

गत वर्ष मात्रै पनि ३ सयभन्दा बढी परिवार बसाइँ सरेको समाचार सार्वजनिक भएको थियो । आफ्ना पालिकाबाट नियमित रुपमा बसाइँ सरेर जानेहरुको संख्या बढिरहेको सन्दर्भमा ती परिवारलाई पुनः गाउँ फर्काएर गाउँपालिकाको उन्नयनमा सहभागी गराउने लक्ष्यका साथ नीति तथा कार्यक्रम र बजेटको व्यवस्थासमेत गरिएको गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ बताउँछन् । यद्यपि, अत्यधिक चेपाङ बस्ती रहेका ती गाउँपालिकामा जस्ताको छानोसमेत फेर्न नसकिएको अवस्थामा अन्य क्षेत्रबाट आउनेलाई दुई कोठाको घर बनाइदिने कुरा हाँस्यास्पद रहेको भन्दै एमालेलगायत विपक्षी दलले आलोचना गरिरहेका छन् । 

यता मनहरीले भने आफ्नो पालिका क्षेत्रमा गुट्खासहित विभिन्न जातका सूर्तिजन्य वस्तु बिक्री बितरण, सेवन तथा ओसार पसारलाई रोक्ने नीति पारित गरेको छ । १७ किलोमिटर राजमार्ग क्षेत्र, बाक्लो बजार क्षेत्र, राजमार्गमा चल्ने सवारी साधनका यात्रुहरुलाई खाना खुवाउने होटलहरु र मोटर मर्मतका ग्यारेजहरु भएको क्षेत्रमा यो नीति कार्यान्वयन गर्न नसकिने एकाथरिको बिश्लेषण छ । तैपनि गाउँपालिकाले नीति तथा कार्यक्रममा यो कुरालाई पारित गरेको छ । अध्यक्ष रञ्जन कालाखेतीले यो बिषयलाई कडाईका साथ लागू गर्न तीनैवटा सरकारका जनशक्ति प्रयोग गरिने बताउनुभएको छ । 

यी दुई पालिकाजस्तै अन्य ८ वटै पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । बागमती प्रदेश सरकारले हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कटौति हुने गरी सार्वजनिक गरेको बजेटका कारण अस्पताल चल्न नसक्ने अवस्था आएकोमा हेटौँडा उपमहानगरपालिकाले चिन्ता जाहेर गरेको छ । सबै पालिकाले देशको आर्थिक मन्दी, राजश्व संकलनमा देखिएको समस्या, संघीय र प्रादेशिक अनुदानमा कटौती भएसँगै बजेटको आकार घटाएका छन् । मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकासहित १० वटा स्थानीय सरकार छन् । तीमध्ये इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमालेले जीत हासिल गरेको छ भने ८ वटा कांग्रेस, माओवादी र समाजवादीको नेतृत्वमा सरकार सञ्चालित छन् । 
 

टिप्पणीहरू