कता हराए हजारौं नेपाली ?

कता हराए हजारौं नेपाली ?

दश वर्षको अवधिमा जनसंख्याको दर घट्छ कि बढ्छ ? पक्कै पनि बढ्नुपर्ने हो तर अचम्मलाग्दो कुरा त सिन्धुपाल्चोकको जनसंख्यादर भने घटेको छ । तथ्यांक कार्यालय,  काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको जनगणना ०७८ को नतिजाअनुसार सिन्धुपाल्चोकको जनसंख्या २५ हजारभन्दा कम्ती भएको छ ।

०६८ सालमा सिन्धुपाल्चोकको जनसंख्या २ लाख ८७ हजार ७ सय ९८ थियो । तर,  ०७८ सालको जनगणनाअनुसार भने २ लाख ६ सय २४ मात्र रहेको देखिएको छ । यो दश वर्षको अवधिमा बाँकी २५ हजार १ सय ७४ जनसंख्या र यसबीच जन्मेको जनसंख्या कता गयो ? कि तथ्यांक मिथ्यांक भयो  ? प्रश्न उठेको छ ।

तथ्यांक कार्यालयका प्रमुख दीपक कोइराला भने तथ्यांक सही भएको बताउँछन् । यसबीच विदेश जाने पुरुष र महिलाको संख्या बढ्न गई जन्मदरमा कमी आएको र अधिकांश दम्पतीले दुईभन्दा बढी सन्तान नजन्माएका कारण पनि जनसंख्या दरमा वृद्धि नभएको उनको भनाइ छ । तर १० वर्षको बीचमा हराएको २५ हजारभन्दा बढी जनसंख्या कता गयो, त्यो भने उनले बताउन सकेनन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा बढी ४२ हजार ६ सय ६२ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या लिसंखुपाखर गाउँपालिकामा छ । कुल जनसंख्यामध्ये जिल्लामा महिलाको संख्या बढी छ । १ लाख ३३ हजार ४ सय १९ महिला र १ लाख २९ हजार २ सय ५ पुरुषको संख्या रहेको तथ्यांक कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले जानकारी दिए ।

यता घरधुरीको संख्या भने बढेको पाइएको छ । २०६४ को जनगणनाअनुसार ६६ हजार ६ सय ८८ घरधुरी रहेकोमा बढेर ७१ हजार ७ सय ७३ घरधुरी पुगेको छ । तर भूकम्प लाभग्राहीको सूचीअनुसार झण्डै लाखभन्दा बढी घरधुरी रहेको देखाउँछ । सरकारबाट प्राप्त ३ लाख अनुदान लिएर लाखभन्दा बढी भूकम्प पीडितले घर बनाएको बताइन्छ । त्यसो हो भने बाँकी घरधुरी कता हराए ? कि बाँकी सबै नक्कली भूकम्पपीडित थिए ? यसमा पनि प्रश्न उठन थालेको छ ।
 

टिप्पणीहरू