यसकारण चक्रपथमा ट्राफिक जाम, विकल्प दिनुपर्ने सर्वसाधारणको माग

यसकारण चक्रपथमा ट्राफिक जाम, विकल्प दिनुपर्ने सर्वसाधारणको माग

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने काठमाडौं महानगरपालिकाको पछिल्लो निर्णय आलोचित बनेको छ । उक्त निर्णयले ट्राफिक जाम ह्वात्तै बढेकोमा व्यापक गुनासो सुनिन थालेको छ । 

सबै जिल्लाबाट काठमाडौं भित्रिने र बाहिरिने यात्रुवाहक सवारीसाधन गोगंबुको नयाँ बसपार्क पुग्नै पर्ने भएपछि त्यस क्षेत्रमा अत्यधिक ट्राफिक जाम हुन थालेको बताइन्छ । राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि महानगरपालिकाले असार १ गतेदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात नयाँ बसपार्कबाटै छुट्नुपर्ने व्यवस्था गरेको हो । 

तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले २०७४ चैत १८ गते गरेको पुरानो निर्णयलाई नै महानगरपालिकाले कडाइका साथ लागु गरेको बताइन्छ । तर, यो निर्णयले विशेषगरी चक्रपथमा ट्राफिक जाम घट्नुको साटो झनै बढ्दै गएको स्थानीयको गुनासो छ । 

उपत्यका बाहिरबाट आउने साना–ठूला सबै सवारी साधन अहिले बसपार्कमा पुग्नैपर्छ । यसअघि बसपार्कबाहेक अन्य क्षेत्रबाट लामो र मध्यम रुटका यातायात सञ्चालन हुँदै आइरहेको थियो । धादिङ, नुवाकोट, रसुवाजस्ता विभिन्न जिल्ला जाने बस बालाजु क्षेत्रबाट छुट्थे । 

त्यस्तै, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्ला जाने बस कोटेश्वरबाट चढ्न र ओराल्ने गरिन्थ्यो । कलंकी, चाबहिल, बल्खुलगायत स्थानबाट पनि बस छुट्ने गरेको थियो । हाल ती सबै सवारी साधन गोंगबु नै जान थालेका छन्  । जसले पनि सो क्षेत्रमा सवारी साधनको जाम ह्वात्तै बढेको हो । यता, यात्रु पनि गाडी चढ्न गोंगबु नै पुग्नुपर्ने भएपछि चक्रपथमा सवारी साधनको संख्या बढेको बताइन्छ ।   

विभिन्न स्थानबाट गाडी चढ्दै आएका यात्रुलाई पछिल्लो निर्णयले सकसमा पारेको छ । यता, बाहिरी जिल्लाबाट आउँदासमेत गोंगबु नै ओर्लिएर घर जानुपर्दाको दुःख छुट्टै छ । महानगरपालिकाको निर्णय अव्यवहारिक भएको भन्दै सर्वसाधारणले चर्को विरोध जनाइरहेका छन् । 

सिन्धुपाल्चोकका कृष्ण थापा महानगरपालिकाको निर्णय सकारात्मक भएपनि यसले दोहोरो सास्ती दिएको बताउँछन् । महानगरपालिकाले समग्र पक्षलाई ध्यानमा नराख्दै कच्चा निर्णय कार्यान्वयनमा ल्याएको उनको भनाई छ । 

‘महानगरपालिकाको निर्णय सकारात्मक छ । सार्वजनिक यातायातको क्षेत्रमा सुधार होस् भन्ने उद्देश्यले महानगरपालिकाले एकद्वार नीति लागु गरेर यातायात सञ्चालन गर्न खोजिएको हो । तर, निर्णय कार्यान्वयनमा ल्याउनुअघि सबै पक्षलाई ध्यानमा राख्नुपर्छ । गाडी चढ्न बसपार्क नै पुग्नुपर्दा दोहोरो सास्ती खेप्नुपर्छ । यात्रु ओराल्ने र चढाउने निश्चित ठाउँ तोकिदिएर यो निर्णय कार्यान्वयनमा ल्याउँदा थप राम्रो हुन्थ्यो जस्तो लाग्छ’, उनले भने । 

यता, भाडा पनि दोहोरो लागेको भन्दै सर्वसाधारणले असन्तुष्टि पोखेका छन् । टिकट काट्न र गाडी चढ्न नै बसपार्क धाउनुपर्ने भएसँगै भाडा पनि दोब्बर तिर्नुपर्ने भएको छ । कतिपयले महानगरपालिकाले केन्द्रीय बसपार्कको विकल्प दिनुपर्ने माग राखेका छन् । एउटा मात्र स्थानमा बसपार्क हुँदा गाडी चढ्न नै महाभारत भएको उनीहरुको गुनासो छ । 

अन्य मुलुकमा ‘सिटी बसपार्क’ बाटै लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने गरिएको छ । महानगरपालिकाले पनि अन्य मुलुकको जस्तै नीति लागु गर्न खोजेको हो । तर, हाम्रोजस्तो अल्पविकसित मुलुकमा यो व्यवस्था एकैपटक कार्यान्वयनमा ल्याउन निकै मुश्किल हुने उनीहरुको भनाई छ ।  

एकातिर यातायात क्षेत्र आफैंमा अस्तव्यस्त छ भने अर्कोतिर सार्वजनिक यातायातको अनुपातमा बसपार्क निकै सानो छ । ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी २०५६ सालमा सञ्चालनमा ल्याइएको बसपार्कमा झण्डै आठ सय वटा सार्वजनिक सवारी साधन अट्ने पार्किङ्ग छ । यो निर्णय सरासर ‘झोलामा हात्ती हाल्न खोज्नुसरह’ भएको अधिकांशको बुझाइ छ । 

लामो छलफल गरेका थियौं : महानगरपालिका 

महानगरपालिकाका सहायक सूचना अधिकारी दीपक अधिकारीले सरोकारवाला निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतसंँग लामो समयको छलफलपछि पछिल्लो निर्णय कार्यान्वयनमा ल्याइएको बताए । सबैले सहमति जनाएपछि मात्र निर्णय लागु गरिएको उनको भनाई छ । बसपार्कबाटै गाडी छुट्ने निर्णयपछि ट्राफिक व्यवस्थापन गर्न निकै सहज भएको उनको दाबी छ । 

‘सर्वपक्षीय बैठकको छलफलपछि मात्र यो निर्णय कार्यान्वयनमा ल्याइएको हो । पहिले ट्राफिक जाम हुन्थ्यो, अहिले ट्राफिक प्रहरीलाई पनि सहज भएको छ । जथाभावी गाडी रोकेर यात्रु चढाउने र ओरोल्ने कार्यमा कमी आएको छ । अहिलेलाई शुरुवात गरिएको छ, यसमा सबैले साथ सहयोग गर्नुपर्छ’, उनले भने, ‘अन्य मुलुकमा एउटा शहरमा एउटा सिटी बसपार्क हुन्छ । त्यहिँबाट गाडी छुट्छ । यहाँँ पनि त्यही लागु गरिएको हो । हामी यसलाई थप व्यवस्थित बनाउन खोजिरहेका छौं ।’ 

त्यस्तै, उनले काठमाडौंका विभिन्न स्थानका अधिकांश टिकट काउण्टरसमेत हटाइसकिएको जानकारी दिए । ३० प्रतिशत टिकट काउण्टर अनलाइन सिस्टममा गइसकेको उल्लेख गर्दै उनले भने, ‘काठमाडौंलाई व्यवस्थित सिटी बनाउनतर्फ लागिपरेका छौं ।’ 

सर्वसाधारणले सूचना बुझ्नु भएनः ट्राफिक प्रहरी 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट सर्वसाधारणले सूचनाको मर्म नबुझेको बताए । उपत्यका बाहिरबाट आउने गाडीको अन्तिम स्टेशन बसपार्क बनाइएको उनको भनाई छ । योबाहेक यात्रु चढाउने र ओराल्ने ठाउँ तय गर्नका लागि कार्यदलसमेत गठन गरिएको उनले जानकारी दिए ।

‘उपत्यका बाहिरबाट आउने बस जथाभावी पार्किङ्ग गर्दा, यात्रु ओराल्ने र चढाउने गर्दा ट्राफिक अस्तव्यस्त भएको थियो । अबचाँहि अन्तिम स्टेशन बसपार्क नै हुनेछ । यात्रुलाई निश्चित ठाउँमा ओराल्ने र चढाउनका लागि बसस्टप तोक्ने तयारीमा छौं । यसका लागि कार्यदलसमेत बनिसकेको छ’, उनले भने । 

साथै, उनले यो निर्णयले सवारी साधन आवागमनमा निकै सहज हुने दाबी गरेका छन् । उनी भन्छन्, ‘ट्राफिक जाम घट्नुका साथै दुर्घटनामा पनि कमी आउने छ ।’

टिप्पणीहरू