अवैध मदिरा किनबेच गरे कारबाही

अवैध मदिरा किनबेच गरे कारबाही

आन्तरिक राजस्व विभागले अवैध मदिरा बिक्री वितरण गर्नेमाथि कारबाही गर्ने भएको छ । 

विभागले विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टीप्यालेस, ब्यकिट, रेष्टुरेन्टले अवैध मदिराको बिक्री वितरण गरेको थाहा हुन् आएको जनाउँदै यस्तो चेतावनी दिएको हो । 

आज सूचना प्रकाशित गर्दै विभागले अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली २०५९ को व्यवस्था विपरीत मदिराको पैठारी, खरिद, बिक्री प्रयोगलगायतको कारोबार गर्नु गैरकानुनी हुने भएकाले त्यसो नगर्न सचेत गराएको छ । विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोकेबमोजिमको स्थानमा अन्तशुल्क टिकट टाँस गरेर मात्र बिक्री वितरण गर्नुपर्ने कानूनी व्यवस्थासमेत स्मरण गराइएको छ ।

‘हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टी प्यालेस, ब्यकिट, रेष्टुरेन्ट समेतले अवैध रुपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी महिदराको भण्डारण, सञ्जय, खरिद, बिक्री एंव प्रयोग गरिरहेको सम्बन्धमा आन्तरिक राजस्व विभागको गम्भिर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली २०५९ को व्यवस्था विपरीत कोही कसैले मदिराको पैठारी, खरिद, बिक्री प्रयोगलगायतको कारोबार नगर्न नगराउन हुन जानकारी गराइन्छ । साथै, अनुगमनका क्रममा कोही कसैले उल्लिखित कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा समेत यसै सूचनामार्फत सूचित गरिन्छ ।’
 

टिप्पणीहरू