अनुसन्धान टोली सुस्ताउने, अवैध धन्दा मौलाउने

अनुसन्धान टोली सुस्ताउने, अवैध धन्दा मौलाउने

सीमावर्ती जिल्ला रुपन्देहीलाई सुरक्षाको हिसाबले अत्यन्त संवेदनशील मानिन्छ । जिल्लामा ‘विशेष सुरक्षा योजना’ बमोजिमको सुरक्षा चुस्तता बढाइएको छ । तर, पछिल्लो समय जिल्लाको सुरक्षा व्यवस्था फितलो हुँदै गएपछि जनगुनासो व्यापक भएको बताइन्छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सरुवा भएर अन्त जाने तरखरमा लागेपछि जिल्लामा विकृति बढेको भन्नेहरु पनि छन् । जिल्लाको सुरक्षा संयन्त्र निकै कमजोर भएको आरोप लगाउँदै स्थानीयले सामाजिक विकृति बढेको अनुभव गरेका हुन् ।

अस्ति शनिबार भैरहवाको मुख्य बजार क्षेत्रको मिलनचोकको एउटा घरमा नेकपा विप्लव समूहले ब्यानर टाँग्यो । करिब १५ मीनेट कोणसभा गरेर उक्त घर कब्जा गरिएको भन्दै विप्लव समूहले सगर्व भाषण गर्यो । तर प्रहरी प्रशासनले त्यसबारे केही पत्तो नै नपाएको बताइयो । 

ब्यानरसहित सहभागी सयौँको र्याली मिलनचोकबाट देवकोटाचोक पुगेपछि मात्रै प्रहरीले थाहा पाएको थियो । सबै हिँडेपछि प्रहरी घटनास्थल पुग्यो । मीटरब्याजीको आरोप लागेका रमानन्द बानियाँको घरमा विप्लव समूहले ब्यानर टाँग्नेलगायत काम गरिसक्दा पनि प्रहरी बेखबर देखियो । जबकी मिलनचोकदेखि सय मीटरको दूरीमा जिल्ला प्रहरी कार्यालय छ । करिब चार सय मीटरको दूरीमा सिडिओ कार्यालय छ ।

जिल्ला प्रशासनको कम्पाउन्डभित्र राष्ट्रिय अनुसन्धानको टोली बसेको छ । एसपीको नेतृत्वमा रहेको उक्त टीमको सूचना स्रोत कमजोर रहेको सरकारी निकायले नै बताउँदै आएका छन् । अनुसन्धानका हाकिमहरुको काम दिनभर सिडियो कार्यालयमा बस्ने र सिडिओसँगै फिल्डमा निस्किनेमा सीमित भएपछि उक्त आरोप लागेको हो ।

प्रधानमन्त्री कार्यालय मातहतको टोलीले जिल्लामा रहेको गृह मन्त्रालय अन्तर्गतका अन्य निकायहरुमध्ये जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी कार्यायले कहाँकहाँ त्रुटी देखिन्छ त्यसको छानबिन गरेर माथिसम्म ब्रिफिङ्ग गर्नुपर्ने हुन्छ । तर, टीमले न बिफ्रिङ्ग गर्ने गरेको छ, न कुनै घटना हुनुभन्दा अगाडि नै सुईंको पाउने गरेको छ ।

अनुसन्धानका कर्मचारीले औपचारिक कार्यक्रममा परिचय दिने गरेकाले पनि अपराधजन्य घटनाको सूचना पाउन नसकेको सहजै अनुमान गर्न सकिन्छ  । लुम्बिनी प्रदेश सरकारमा गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सन्तोष पाण्डेको निर्वाचन क्षेत्र रहेको भैरहवामा प्रशासनको बैठक बसिरहन्छ तर कुनै उपलब्धि हात पार्न सकेको छैन ।

अस्ति साँझ सशस्त्र प्रहरी बल, रुपन्देहीले करिब पौने दुई करोड रुपैयाँभन्दा बढीको सुनको इँटा बरामद गर्यो । तर, यो विषयमा पनि अनुसन्धान टीम बेखबर थियो । बरामद भएको सुनको इँटाको हाल शुद्धता परीक्षण गरिँदैछ । चार दशकअगाडि रुपन्देही सुन तस्करीको ट्रान्जिट थियो । पछिल्लो समय पहिलेको घटना दोहोरिन थालेको छ । 

भैरहवामा दुई साताअगाडि व्यवसायी भैरब कलवारको घरलाई लक्षित गरेर बम विस्फोट गराइयो । त्यसबाट घरको पर्खाल भत्कियो । सोही दिन लुम्बिनी रोडमा पनि विस्फोट भयो । दुई महिना अगाडि सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा बम राखियो । ती बम राख्ने र विस्फोट गराउने को थिए भन्नेबारे हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । 

स्थानीय चिकित्सकहरुको घरमा लगातार चोरीका घटना भए । यद्यपि, चोर पत्ता लगाउन पनि अनुसन्धान टिम असफल रह्यो । जसका कारण अपराधीहरुको मनोबल बढेको हो । जिल्लामा चोरी तस्करी दिनहुँ बढ्दै गएको छ । रुपन्देहीमा यतिबेला सुनको तस्करी मौलाउन थालेको छ । सुन तस्करी बढेको कारण नेपाली बजारमा भारतीय रुपैयाँको बिक्रीदर घटेको हो । 

सीमावर्ती क्षेत्रमा खोलिएका मसाज सेन्टरहरुमा अवैध धन्दा भइरहेको सबैजसो सरकारी निकायको जानकारीमा छ । नियामक निकाय आफैं सुस्ताएपछि गैरकानुनी धन्दा कसरी बन्द हुन्छ ? यता, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरको चासो बढेको छ । विदेशी र ठूला समाचार एजेन्सीहरुले त्यहाँबाट लुकीछिपी सूचना संकलन गरिरहेका छन् । तर, हाम्रै अनुसन्धान टोली भने हालसम्म अनभिज्ञ देखिएको छ ।

टिप्पणीहरू