महिलालाई पुरुष बनाएपछि महाभारत

महिलालाई पुरुष बनाएपछि महाभारत

पढे लेखेर, ठूलो मान्छे भएर मात्रै पुग्दैन रहेछ, प्रक्रिया नबुझ्दा विदेशमा दुःखको पहाड । 

निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाकी पत्नी र सालाहरु माल्दिभ्स जाने क्रममा दुबईको अध्यागमनबाट रोकिए । कारण थियो, लिखतमा लिंग बिग्रिनु । फारम भर्दा ‘फिमेल’ को ठाउँमा ‘मेल’ लेखिनाले यस्तो दुःख आइलागेको हो । पूर्वराजदूत  कृष्णप्रसाद ढकालले हस्तक्षेप गरेर केस सल्टाउन खोज्दा पनि नियम कति कडा भने अरेबियनहरुले मान्दै मानेनन् । 

यस्तो हुनुमा फर्म भर्ने कर्मचारीको असावधानीलाई प्रमुख कारण मानिन्छ । त्यसैले अचेल फर्म भर्दा जसले फर्म भरेको हो, उसैलाई विवरण ठीक छ भनेर सही गराउन थालिएको छ । फर्म सब्मिट गर्दा कहिलेकाहीं रिजेक्ट हुन्छ र सच्याउने मौका पाइन्छ । तर, कहिलेकाहीं महिला र पुरुषको नाम एउटै हुन सक्छ । जस्तो ‘कञ्चन बस्नेत’ । यस्तै ‘लक्ष्मी उपाध्याय’ भन्यो भने महिला, पुरुष दुवैको नाम मिल्छ । लिंगका विषयमा कहिलेकाहीँ कर्मचारीले पनि पत्ता लाउन सक्दैनन्  । भीडभाडको बेला फोटो पनि हेरिन्न । हाकिमको परिवार भनेर कर्मचारीले ल्याउँदा त झनै गल्ती याद गरिन्न ।

कतिपय अवस्थामा नामहरु नै गल्ती भएको पाइन्छ । कुनै साइबरमा गएर फर्म भर्दा आफ्नो नामहरु पढेलेखेका मान्छेले पनि हेर्दैनन् । बाहिर गएर दुःख पाएपछि मात्र थाहा पाउँछन् । राष्ट्र बैंकका एक जना अफिसर नै यस्तोमा परिन् । अफिसको काममा विदेश गएर फर्किंदा दुबईमा पति र ७ वर्षकी छोरीलाई घुम्न बोलाइन् । छोरीको भीसामा महिला हुनुपर्नेमा पुरुष भएपछि उनीहरुलाई काठमाडौँ फर्काइयो ।

टिप्पणीहरू