ज्ञानबहादुरको बचाउमा राप्रपा नेता, गणतन्त्रको उपभोग गर्न पाउनुपर्ने जिकिर

ज्ञानबहादुरको बचाउमा राप्रपा नेता, गणतन्त्रको उपभोग गर्न पाउनुपर्ने जिकिर

राजसंस्था ब्युँताउने अभियानमा हिँडेको पूर्वपञ्चहरुको पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको बताएका छन् । 

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले संसदमा बोलेका कुरालाई लिएर प्रश्न उठ्न थालेपछि पार्टीका तर्फबाट श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो । आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्रको निर्वाध उपभोग गर्ने अधिकार गणतन्त्रवादीलाई मात्रै होइन,गणतन्त्र नमान्नेहरुलाई पनि त्यत्तिकै छ ।’ 

प्रवक्ता श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता,भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षाबाहेक अन्य कुनै पनि धारा अपरिवर्तनीय नरहेकोले संविधानसमेत संशोधन गर्न सकिने प्रावधान स्मरण पनि गराएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुध्द सर्वाेच्च अदालतमा ‘युध्द अपराध’को मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दर्ता भएको र जवाफका लागि बोलाएकाले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए । यसपछि माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति जनाउँदै शाहीको भनाइ रेकर्डबाट हटाउन माग गरेका थिए  । 

बैठक समापनपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग माओवादीका माधव सापकोटा र लेखनाथ दाहालले शाहीको भनाइमा आपत्ति जनाएका थिए । सांसद शाहीलाई संसदमा बोल्न माइक दिन नहुनेसम्म अभिव्यक्तिपछि राप्रपा प्रवक्ता श्रेष्ठले गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको जवाफ दिएका हुन् ।
 

टिप्पणीहरू