सशस्त्रका इन्स्पेक्टरले बिगारेको मेरो घरसंसार

सशस्त्रका इन्स्पेक्टरले बिगारेको मेरो घरसंसार

समाजमा शान्ति र अमनचयन कायम गर्नुपर्ने र बेइमानी गर्नेहरूलाई लाठी बजार्नुपर्ने प्रहरी आफैं नियम कानुन भत्काउँदै हिँड्छन् । अरुका छोरी, चेली, बुहारीमाथि आँखा मात्र लगाउँदैनन्, तिनलाई मीठा–मीठा सपना देखाएर अतृप्त कुण्ठा पूरा गर्छन् । यस्तै एकजना बैरी इन्स्पेक्टरको आँखा लाग्दा २० औं वर्षदेखिको घरबार क्षणभरमै भत्कन पुगेको छ ।

२३ वर्षअगाडि बाँधिएको हुँ विवाह बन्धनमा । प्रेम विवाह थियो हाम्रो । विवाह गर्दा मेरो उमेर १९, उनको १६ । सुखसँगै दौडिरहेको थियो जीवनको रीत । साथमा छोरी थिइन् । उनको भविष्यको चिन्ता थियो हरपल । पेशाले सवारी चालक, आफ्नै तीन वटा गाडी थिए । हातमुख जोड्नका लागि कसैसँग हात पसार्न परेन । दुई दशक बढी समय हाम्रो जोइ पोइ नमुना जोडीजस्तो थियो । बुहारी भनेको यस्तो हुनुपर्छ भन्ने उदाहरण थिइन् । बारा, सिमरातिर नमुना जोडी थियौं हामी । लोग्ने–स्वास्नीको झगडा त कसको पो पर्दैन र ? तर, परालको आगोजस्तो हुन्थ्यो । हुर्रर बल्ने, निभिहाल्ने  । म आगो हुँदा उनी पानी हुन्थिन्, उनी आगो हुँदा म पानी । हाँसी खुशीसँग जीवन बिताइरहेका थियौं । एकाअर्काप्रति पूर्णरूपमा समर्पित तर नजाने, कसको मन कहाँ, कतिखेर बदलियो । कहाँबाट कहिले सशस्त्र प्रहरीको इन्स्पेक्टर भेटिछन्, थाहा छैन । उनको माइती धादिङ, त्यतैका रामचन्द्र खड्कासँग बहकिन थालेछ मन । तन एकातिर, मन अर्कैतिर भएपछि कहाँ माया, प्रेम पच्दो रहेछ र मान्छेलाई ? सदैव माया, प्रेमको कुरा गर्ने शारदालाई मायाका कुरा पच्न छाड्यो । स–सानो कुरामा समेत झर्किने र फन्किने गर्न थालिन् । दिनभरको थकानले घर पुग्थेँ । श्रीमतीको हँसिलो मुहार हेर्न र मीठो बोली सुन्न व्याकुल हुन्थेँ तर ढोकामा मलाई देख्नेबित्तिकै गाली गर्ने, झर्काे–फर्काे गर्ने दैनिकी बन्न थाल्यो । स्वभावमा अनायास यसरी परिवर्तन आयो कि कहिले हात नउठाउने मान्छे अब त सिधै हातपात गर्न थालिन् । स्वास्थ्य समस्याले पो यस्तो भएको हो कि भनेर धामी, झाँक्री, वैद्य, चिकित्सककहाँ लैजान्थेँ तर मान्छेलाई ‘मायाको रोग’ लागेपछि नछुने रहेछ औषधि र बुटीले । 

मान्छेलाई मायाकाे राेग लागेपछि नछुने रहेछ औषधी र बुटीले ।  उताबाट नग्न तस्बिर पठाउने, यताबाट पनि पठाउन लगाउने । अश्लील च्याट मात्र । सात दिनको मात्र च्याट हेरेपछि छाँगाबाट खसेझैँ भो मलाई ।

कुटपिट, गाली, गलौज, आरोप निरन्तर चल्न थाल्यो । दुई वर्षसम्म नियमित टोकसोको कारण आजित थिएँ । उपचारले पनि नछुँदा पीडित थिएँ । उनको बानीमा आएको आकाश र जमिनको अन्तरले मनमा चिसो पस्थ्यो । विगतका दिन आफैंलाई सपनाझैँ लाग्न थाल्यो । एउटै कुरा जान्न चाहन्थें– मेरो प्रेम, मेरो मुटु र मेरो जीवन अकस्मात् किन फेरियो ? केही महिनापछि त्यो राज खुल्यो । एक समय मेरो मनको महारानी थिइन् उनी । उसैको जीवन खरानी बनाइदिइन् । मनपर्दा संसारभरकै अत्यन्त सुन्दरी लाग्ने मान्छे मेरो नजरमा संसारकै कुरूप आइमाई लाग्न थाल्यो । त्यसैले त भनेको होला मन नपर्ने मान्छेको सासै गन्हाउने । मेरो लगाइ, खुवाइ, हेराइ बोलाइ सबै उनका लागि नमीठो लाग्न थाल्यो । यसरी मेरो जीवन, मेरो प्रेमको स्वभाव र आनीबानी परिवर्तन हुनुको पछाडि कारक रहेछन्, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत इन्स्पेक्टर रामचन्द्र खड्का । 

जतिखेरै मोबाइलमा व्यस्त हुन्थिन् शारदा । बिहान १० बजेसम्म सिरकभित्रै । ट्वाइलेट जाँदा मोबाइल आफैंसँग लैजाने, घण्टौं त्यतै हराउने । सम्बन्ध विश्वासमा अडिएको हुन्छ र विश्वासचाहिँ रेशमको धागोजस्तै हुँदो रहेछ । एक पटक चुँडिएपछि जोड्नै कठिन ! विद्यालयमा गएर पढेको थिइनँ अक्षरहरू तर पढेको थिएँ मान्छेहरूकमे मुहार । एक दिन बेलुका उनले मदिरा पिउने रहर गरिन् । मदिरालाई ककटेल पारेर पिउन दिएँ । उनलाई मात चढेर सुतेपछि मोबाइलको म्यासेज चेक गर्नका लागि बहिनीलाई दिएँ । नपढेका कारण के म्यासेज गरेको छ, म जान्दिनथें । अनि खुल्यो श्रीमती र इन्स्पेक्टर रामचन्द्र खड्काको चर्तिकला ! श्रीमती मबाट टाढिँदै जानुको रहस्य । उताबाट नग्न तस्बिर पठाउने, यताबाट पनि पठाउन लगाउने । अश्लील च्याट मात्र । त्यो पनि डिलिट गर्न बिर्सिएका कारण सात दिनको मात्र च्याट हेरेपछि छाँगाबाट खसेझैँ भो मलाई । म्यासेजमा मलाई यो मान्छेसँग बस्नु छैन छिट्टो लैजाऊ भनेकी छन्, शारदाले । उताबाट जवाफ पठाइएको छ, डिभोर्स गर्नुपर्छ । श्रीमान्सँग झगडा गर । अदालतमा मुद्दा हालेर डिभोर्स गराऊ अनि त्यसको सम्पत्ति खाने । यसरी उनलाई यतिधेरै प्रेम र विश्वास गर्थें कि त्यही प्रेम र विश्वासका कारण उनी मेरै शीरमाथि टेक्न थालिछन् । माइतीतिरका गतिला भैदिएनन् । त्यही कारण माइती पठाउन डर लाग्थ्यो । बाराबाट धादिङ माइती आउँदा एक डेढ लाख बोकेर लैजान्थिन् । श्रीमान्-श्रीमतीबीच हिसाब–किताब र प्रमाण राखेर लेनदेन हुने कुरा पनि होइन । माइती जाँदा मात्र झण्डै १८/२० लाख सिध्याइन् । एक दिन त जे कुराको डर थियो, त्यही भयो । 

गत साउनदेखि माइती गएर बसिन । दशैंमा पनि घर आइनन् । एक्कासी डिभोर्स दिएको पत्र आयो । मैले मुद्दा लड्ने, डिभोर्स नदिने अडान लिएँ । खान, लगाउन दिएकै थिएँ । आफ्नो कर्तव्य निभाएकै थिएँ । ऊ अर्काेसँग अर्काको उक्साहटमा मविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको प्रमाण मसँग थियो । अदालतमा मिलापत्र भयो । मिलापत्र हुँदा पनि केटा नै तल पर्नुपर्ने रहेछ । अदालतले अब आइन्दा हातपात गरेको खण्डमा ६ वर्ष जेल र सम्पत्ति दिनुपर्छ भन्यो । त्यसपछि झनै उसैको अत्याचार शुरु भयो । सुतेको ठाउँमा आएर हिर्काउने, जसरी पनि झगडाको लागि निहुँ मात्र खोज्ने । झण्डै दुई वर्षसम्म श्रीमान्श्री/मतीको रूपमा एउटै घरको छानामुनि एउटै ओछ्यान थियो । सिरानी एउटै तर मन फरक । 

यसरी मेरो खुशीमा लागेका दुश्मनविरुद्ध लड्नु नै थियो । उनीहरूबीचको कुराकानीमा छिटो श्रीमान्लाई डिभोर्स देऊ । पैसा यति माग भन्नेजस्ता कुरा, अश्लिल संवाद र भिडियोलगायत प्रमाणसमेत पेश गरी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा पुगेर निवेदन दिएँ । मेरो २३ वर्षदेखिको सम्बन्ध बिगारिदिनेलाई प्रहरी सेवाबाटै बर्खास्त गरिनुपर्छ भनेर निवेदन दिएको थिएँ । नेपालमा डिआइजीजस्ता मान्छेले श्रीमती मार्दा त उसलाईसजायँ हुँदैन, अर्काकी श्रीमतीसँग लाग्ने इन्स्पेक्टरलाई के कारबाही होला र ? भन्ने लागेको थियो । तर, हल्चोकले कारबाही त गरेको छ तर चित्तबुझ्दो भएन । इन्स्पेक्टर रामचन्द्र खड्काले आचरणविपरीत काम गरेको भन्दै विभागीय कारबाहीसम्म गरेको छ । यो कारबाही चित्तबुझ्दो छैन । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार २०८० जेठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्का भएको छ । श्रीमती, दुई छोरीको बाबु भएको प्रहरीले बर्दीको आडमा अरु कतिको घरबार भत्काएको होला ? 

– मानसिंह थिङ लामा, पीडित 
 

टिप्पणीहरू