गरिबको उपचारमा अनिवार्य १० प्रतिशत शैया छु्टयाउन निर्देशन

गरिबको उपचारमा अनिवार्य १० प्रतिशत शैया छु्टयाउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । 

मुलुकभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई परिपत्र गर्दै मन्त्रालयले कुल शैयाको १० प्रतिशत विपन्न नागरिकलाई छुट्याई अनिवार्य रुपमा निःशुल्क उपचार गराउन भनेको हो । मन्त्रालयले निर्देशन अटेर नगर्न ती संस्थालाई चेतावनीसमेत दिएको छ ।

‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्नेछ,’ प्रेषित पत्रमा भनिएको छ, ‘यस विषयमा मन्त्रालयको अनिवार्य रुपमा अनुगमनसमेत हुनेछ ।’

मन्त्रालयका उपसचिव एकदेव खनालका अनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्ति मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट पुष्टि गर्न स्थानीय तहलाई पनि पचात्रार गरिएको छ । 

साथै, सरकारी निकायबाट जारी भएको गरिब परिचयपत्र समेतलाई आधारमानी १० प्रतिशत शैया छुट्याएर निःशुल्क उपचार अनिवार्य गर्न गराउन मन्त्रालयले अस्पतालहरुलाई आग्रह गरेको हो ।
 

टिप्पणीहरू