मोदीलाई प्रचण्डको जवाफ : सीमा विवाद यथावत, सम्बन्धमा ‘ब्रेक थु’ भन्ने हुँदैन

मोदीलाई प्रचण्डको जवाफ : सीमा विवाद यथावत, सम्बन्धमा ‘ब्रेक थु’ भन्ने हुँदैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीचको सीमा समस्या समाधानका लागि छलफल भएको बताउनुभएको छ । 

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज नेपाली पत्रकारहरुसँग कुराकानी गर्दै सीमा समस्या सल्टाउने विषयमा आफू र भारतीय समकक्षीबीच कुराकानी भएको जानकारी दिनुभएको हो । सो क्रममा उहाँले भारतीय प्रधानमन्त्री मोदीलाई सीमा विवाद थाँती राखेर दुई देशबीचको सम्बन्धमा ‘ब्रेक थ्रु’ हुन नसक्ने कुरा आफूले प्रष्टरुपमा राखेको पनि पत्रकारहरुलाई सुनाउनुभयो । 

अस्ति नयाँ दिल्ली पुग्नुभएका प्रचण्डले हिजो भारतीय समकक्षी मोदीसँगको ‘वान टु वान’ वार्ता गर्नुभएको थियो । लगत्तै दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । त्यसपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका मोदीले सीमा समस्या समाधान गरिने बताउनुभएको थियो । ‘हाम्रो सम्बन्धलाई हिमालयजस्तै उचाई दिने काम गर्नेछौँ’, उहाँले भन्नुभएको थियो, ‘यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।’ 

आफूसँगको एकल वार्तामा पनि मोदीले सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । त्यसमा आफूले विशेष चासोका साथ कुरा उठाएको उहाँले बताउनुभयो । 

‘मैले मोदीजीलाई सीमा विवाद कायम राखेर दुई देशबीचको सम्बन्धमा ’ब्रेक थ्रु’ हुन सक्दैन भनेँ,’ नेपाली पत्रकारसँग मोदीसँगको भेटमा भएको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मोदीजीले पनि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास राख्नु भएको छ । उहाँले सीमा विवाद हल गर्ने विषय महत्वपूर्ण भएको र यसको समाधान गर्नुपर्छ भन्नुभएको छ ।’ 

भारतीय प्रधानमन्त्रीले नेपालसँगको सीमा विवादबारे सार्वजनिक धारणा व्यक्त गरेको यो नै पहिलो पटक भएको बताइन्छ । नेपाली पक्षले भने नेपाल–भारत सीमा विवादलाई हरेक उच्चतहको भेटवार्तामा महत्वका साथ उठाउँदै आएको छ ।

टिप्पणीहरू