निवेदन लेखाउन प्रशासनमा छुट्टै कक्ष

निवेदन लेखाउन प्रशासनमा छुट्टै कक्ष

जिल्ला प्रशासन कार्यालय, पाँचथरले निवेदन लेख्न नसक्ने सेवाग्राहीलाई लक्षित गरी ‘निःशुल्क निवेदन कक्ष’ स्थापना गरेको छ । प्रशासनले निवेदन लेख्न नजान्ने सेवाग्राहीका निम्ति यस्तो व्यवस्था गरेको हो । 

सेवालाई प्रभावकारी, नागरिकमैत्री र गुनासोरहित बनाई सेवाग्राहीमैत्री कार्यालयको रुपमा विकास गर्नका लागि यो व्यवस्था गरिएको प्रशासनले जनाएको छ । प्रशासनले निवेदन लेख्नका लागि छुट्रटै कर्मचारीसमेत खटाएको छ । कोठा नम्बर १३ मा गएर सेवाग्राहीले निवेदन लेखाउन सक्ने जनाइएको छ । 

योसंगै प्रशासनले सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै आएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बताए । शनिबार बिहान १० बजेदेखि २ बजेसम्म राहदानीलगायतका सेवा दिइने उनको भनाइ छ । 

‘निवेदनसंगै हामीले सार्वजनिक बिदाका दिन पनि राहदानीलगायतका सेवा दिने व्यवस्था मिलाएका छौं । सबै कर्मचारी यही कार्यालयको क्वार्टरमा बस्ने भएपछि सेवाग्राहीलाई किन कुराइराख्ने ? नयाँ पासपोर्टचाँहि बिदाको दिन हुँदैन् । तयार भएको पासपोर्ट लिन सेवाग्राहीहरु शनिबार आउनुभयो भनेपनि पाउनुहुन्छ’, उनले भने ।
 

टिप्पणीहरू