विद्यार्थी संगठनहरुको एउटै स्वर, ‘सामुदायिक विद्यालयको मनोमानी सहदैनौं’

विद्यार्थी संगठनहरुको एउटै स्वर, ‘सामुदायिक विद्यालयको मनोमानी सहदैनौं’

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालित सामुदायिक विद्यालयले जथाभावी शुल्क लिएको विरोधमा विद्यार्थीहरु संघर्षमा उत्रिएको छन् । 

माध्यमिक तहसम्मको निःशुल्क शिक्षा नीतिलाई सामुदायिक विद्यालयहरुले अटेर गरेर मनलाग्दी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ, एमालेनिकट अनेरास्ववियु, एकीकृत समाजवादीको  अनेरास्ववियू र माओवादी केन्द्रको (अखिल क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी जेठ २१ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे । 

जसअनुसार जेठ २१ गते जिल्लाका सम्पूर्ण नगरपालिकाको कार्यालयअगाडि धर्ना दिने, जेठ २२ गते नगरशिक्षाको कार्यालयमा तालाबन्दी गर्ने जनाइएको छ । त्यसपछि पनि आफ्ना माग बेवास्ता गरिए कडाभन्दा कडा संघर्षका कार्यक्रम ल्याउने विद्यार्थी संगठनको  चेतावनी छ । 

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकले राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था रहेको स्मरण गराउँदै विज्ञप्तिमा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको निर्देशनसमेत विद्यालयहरुले नमानेकाले आन्दोलन गर्न बाध्य भएको उल्लेख गरिएको छ । 

ईकाइले गत वैशाख २७ गते जिल्लाका सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै विद्यार्थी भर्ना निःशुल्क गर्न र विपन्न, गरिब, दलित, सीमान्तकृत र पिछडिएका विद्यार्थीलाई पूर्णरुपमा निःशुल्क शिक्षा प्रदान गर्न निर्देशन दिएको थियो । 

त्यस्तै, विद्यार्थीहरुलाई कुनै पनि आर्थिक व्यवभार नपर्नेगरी पठनपाठनको व्यवस्था गर्न र नेपाल सरकारबाट स्वीकृत पाठ्यपुस्तक मात्र लागु गर्न भनिएको थियो । तर, सामुदायिक विद्यालयहरुले ईकाइको निर्देशन नमानेको विद्यार्थी संगठनहरुको आरोप छ ।

 

टिप्पणीहरू