पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको चेतावनी : गुण्डा परिचालन गरेर नारायणहिटी फर्किने कल्पना नगरे हुन्छ

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको चेतावनी : गुण्डा परिचालन गरेर नारायणहिटी फर्किने कल्पना नगरे हुन्छ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गुण्डा परिचालन गरेर गुमेको राजसंस्था फर्काउने सपना नदेख्न चेतावनीपूर्ण सुझाव दिनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका प्रशंसकहरुले हिजो आफू सहभागी एक कार्यक्रममा मारमुंग्री गरेको घटनालाई लिएर आज पत्रकार सम्मेलन गर्नुभएका खनालले गुण्डा लगाएर गणतन्त्रको पक्षमा लडेका नेताको हुर्मत लिने काम नगर्न ज्ञानेन्द्रलाई सुझाव दिनुभएको हो । विगतमा लोकतान्त्रिक शक्तिविरुद्ध मण्डलेहरुले आक्रमण गरेको स्मरण गर्दै उहाँले अहिले त्यस्तै गर्न खोजे ज्ञानेन्द्र स्वयम्लाई महँगो पर्ने चेतावनी पनि दिनुभयो ।  

खनालले भन्नुभयो, ‘म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गर्ने होइनन् । हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका विरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे । तिनै मण्डलेहरु ब्युँताउन कोशिस भएको छ ।’

यदि राजनीतिक दलहरुविरुद्ध गुण्डागर्दी नरोकेमा पूर्वराजालाई देशभर कुनैपनि कार्यक्रम गर्न नदिने उहाँको चेतावनी छ ।

भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समेटेर नक्सा राखिएको सन्दर्भमा हिजो वामपन्थी नेता साध्यबहादुर भण्डारीले आयोजना गरेको छलफल कार्यक्रममा पसेर पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीको फोटो अंकित टि–सर्ट लगाएका राजावादीहरुले हुलदंगा गरेका थिए । त्यसक्रममा उनीहरुले मञ्चमा रहनुभएका पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्दै नाराबाजी गरेका थिए । 

देश र पूर्वराजा रोज्नुपरे ज्ञानेन्द्र शाह नै रोज्ने बताएका सन्तोष राजावादी नामका युवाले खनाललाई झम्टेर ’भ्रष्टाचारी’ भन्दै कार्यक्रममा भाँडभैलो निम्त्याएपछि उनीसहित ११ जनालाई प्रहरीले पक्रेको थियो ।  

त्यसको प्रतिवादमा आज पत्रकार सम्मेलन गर्नुभएका खनालले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डा परिचालन गरेर नारायणहिटी फर्किने कल्पना नगर्न चेतावनी दिनुभएको हो । हिम्मत भए राजनीतिमा आएर प्रतिस्पर्धा गर्न पनि उहाँको चुनौती छ । ‘ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, गुण्डागर्दी इच्छा छ भने यो पूरा हुनेवाला छैन । अहिले नै हिसाबकिताब हुन्छ’, आक्रोशित हुँदै उहाँले भन्नुभयो ।
 

टिप्पणीहरू