शैक्षिक प्रोत्साहन पाउने कर्मचारीका छोराछोरीको नाम सार्वजनिक

शैक्षिक प्रोत्साहन पाउने कर्मचारीका छोराछोरीको नाम सार्वजनिक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शैक्षिक प्रोत्साहन वृत्ति पाउने निजामती कर्मचारीका सन्ततिहरुको नाम सार्वजनिक गरेको छ । 

शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शैक्षिक प्रोत्साहन वृत्तिका लागि छनौट भएका ६९७ जनाको प्रारम्भिक नामावली प्रकाशन गरेको हो । ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका संशोधनसहित, २०७८’ बमोजिम गत वैशाख १५ गते सूचना प्रकाशन गरिएको थियो । 

हिजो बसेको समितिको बैठकले तोकिएको म्यादभित्र पेश भएका विवरण, संलग्न कागजात, सम्बन्धित कलेज र अभिभावक कार्यरत कार्यालयले उपलब्ध गराएको प्रमाणित कागजात, सम्बन्धित विश्वविद्यालयबाट प्राप्त विवरणबमोजिम छात्रवृत्तिका लागि विद्यार्थी छनौट गरेको हो । 

समितिले गलत विवरण वा कागजात पेश गरी प्रारम्भिक नतिजासूचीमा नाम समावेश हुन पुगेका विद्यार्थीको जानकारी दिन भनेको छ ।  ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, संशोधनसहित, २०७८’ को दफा १५ बमोजिम आगामी १५ दिनभित्र उजुरी सुनुवाई समिति, मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आधार र कारणसहित उजुरी दिन सुसूचित गराइएको छ । 

ती आवेदक विद्यार्थीको नाम तत्काल नतिजासूचीबाट हटाइने समितिले जनाएको छ । साथै, अभिभावकको स्थायी लेखा नम्बर छुटेका विद्यार्थीलाई अनलाइन आवेदन प्रणालीमार्फत यथाशीघ्र अद्यावधिक गराउन भनिएको छ ।

टिप्पणीहरू