गर्मी बढेपछि विद्यालय बन्द

गर्मी बढेपछि विद्यालय बन्द

पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालय एक साता बन्द हुने भएका छन् । 

अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले यही ज्येष्ठ १९ गते शुक्रबारदेखि ज्येष्ठ २६ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न भनेको छ । 

महानगरपालिकाअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु सो अवधिसम्म बन्द रहने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘यस कार्यालयको ज्येष्ठ १७ गतेको निर्णयानुसार हाल बढ्दो अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै यही ज्येष्ठ १९ गते शुक्रबारदेखि ज्येष्ठ २६ गते शुक्रबारसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी यस महानगरपालिकाअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’

टिप्पणीहरू