राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अमेरिकामा बस्ने काँग्रेसीहरु हर्षित

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अमेरिकामा बस्ने काँग्रेसीहरु हर्षित

गैरआवासीय नेपाली (एनअरएनए) हरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली काँग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले खुशी प्रकट गरेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै एनअरएनएहरुलाई नेपाली नागरिकता पाउने बाटो खुलेको छ । अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन् । 

गैरआवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने छन् । पाँच वटा प्रमाणसहित निवेदन दिएपछि उनीहरुलाई नागरिकता प्राप्त हुने छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट विज्ञप्ति जारी गर्दै प्रवासी नेपालीले उठाउँदै आएको गैरआवासीय नागरिकताको अधिकारको सुनिश्चितता भएकाले विधेयक प्रमाणीकरण हुनु सुखद पक्ष रहेको बताए । साथै विदेशमा बस्ने नेपालीको हक, अधिकार तथा सदैव नेपाली हुने कानुनी आधारका लागि समेत बाटो खुलेको उनले बताएका छन् । 

नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको लागि ऐतिहासिक उपलब्धिको दिन भएको विष्टले उल्लेख गरेका छन् ।

'भूगोलमा जहाँ रहे पनि सबैभन्दा पहिले हामी नेपाली हौं । हाम्रो हक, अधिकारको सुनिश्चितता गर्ने पहिलो जिम्मेवारी नेपाल सरकारको हो । यसका लागि विश्वभर छरिएर रहेका आम नेपाली जनसम्पर्क समितिका सदस्य र गैरआवासीय नेपाली संघले निरन्तर आवाज उठाउँदै आएको जगजाहेर नै छ । हाम्रो निरन्तरको सामूहिक अनुरोध र संगठित आवाजलाई आज हाम्रो मातृभूमिको सरकारले सुनेको छ । यसका लागि हामी हाम्रो मातृ पार्टी नेपाली कांग्रेसको नेतृत्व र संसदमा रहेका माननीयज्यू सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छौं,' विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू