रक्षामन्त्रीकी बुहारीसङ्गै सशस्त्रका हवल्दार कसरी मारिए ?

रक्षामन्त्रीकी बुहारीसङ्गै सशस्त्रका हवल्दार कसरी मारिए ?

बाँकेमा हिजो राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका ८, अगैयादेखि पश्चिम मुगुवा खोला नजिकै राजमार्गमा बस र कार ठोक्किँदा चालकसहित सोही कारमा सवार एक महिलाको निधन भएको थियो ।

पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको  भे.१ ख ३३३५ नम्बरको बस र पूर्वबाट नेपालगञ्जतर्फ हुइँकिँदै गरेको बा. १३ च ८२५३ नम्बरको निजी कार ठोक्किँदा कारमा सवार दुवै जनाको निधन भएको बताइएको छ । 

प्रहरीका अनुसार सुर्खेत निवासी ५४ वर्षीया डा. सञ्जु खाती (खड्का) र गोरखाका ३७ वर्षीय सशस्त्र प्रहरी वरिष्ठ सहायक हवल्दार सुवाष अधिकारीको मृत्यु भएको हो । डा. खाती रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी हुन् । 

बसका यात्रुहरुमध्ये सामान्य घाइते कालिकोटका ३१ वर्षीय पदमबहादुर बुढासहित छ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार गरिएको छ । हिजो राति राजमार्गमा भएको उक्त दुर्घटना सामान्य थिएन । 

"स्वयम् रक्षामन्त्रीको सेवामा सैनिक सुरक्षाकर्मीबाहेक सशस्त्र प्रहरी पनि खटिँदैन । चिकित्सक भाइबुहारी जो सशस्त्र सुरक्षा फौजसँग कुनै कोणबाट सम्बन्धित छैनन्,उनको ड्युटीमा अधिकारीलाई कसरी र कसले खटायो ? ‘कुन प्रयोजनको लागि खटाइयो र के उपलब्धीका लागि भन्ने कुरा कहीं कतै अभिलेख छैन । ’

‘अकल्पनीय र अप्रत्यासित घटना भएको छ । जसमा एक जना भिआइपीकी भाइबुहारीसँगै एउटा फौजी कर्मचारीले अकालमा मृत्यु वरण गर्नुपर्यो,’ गृह मन्त्रालय स्रोतले जनआस्थासँगको कुराकानीमा उल्लेख गर्यो । एउटा बर्दीधारीको अकाल र अकारण भएको मृत्युमा अब राज्यले उसको परिवारलाई क्षतिपूर्ति कसरी दिन्छ ? भन्ने विषय निकै पेचिलो बनेको छ ।

हिजो राति दुर्घटना हुनुअघिसम्म उनलाई कुन मापदण्ड,नीति र निर्देशिकामा टेकेर कसले मन्त्रीको बुहारीलाई सुर्खेत पुर्याउन गाडी चालकको रुपमा खटायो भन्ने विषयले बिहानैदेखि सशस्त्र मुख्यालय हलचोकको वातावरण निकै गर्माएको छ । कुनैपनि नियम र कानुनमा उनको ड्युटी कहाँ हो भन्ने कुरो उल्लेख नभएकाले अधिकारीलाई नीति विपरीत खटाइएको तथ्य खुलेको हो । 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी चिकित्सक भाइ बुहारीलाई लिएर राजधानीबाट गएको एउटा निजी कार हिजो राति बाँकेको समशेरगञ्जमा दुर्घटनाग्रस्त भएपछि सुरक्षा फौजका टाठाबाठाले जनताका छोराछोरीलाई कसरी ठूलाबडाको चाकडीमा प्रयोग गर्ने गरेका छन् भन्ने भेद पनि खुलेको छ ।

गोरखाका अधिकारीलाई कसले,किन व्यक्तिको निजी कार हाँक्ने प्रयोजनमा चालकको रुपमा खटायो भन्ने सशस्त्रका कुनै पनि युनिटमा अभिलेख छैन । एउटा सुरक्षाकर्मीले कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेको हो भने कसको सेवामा खट्दा र कसको ड्युटीमा भन्ने स्पष्ट हुनुपर्छ । स्वर्गीय अधिकारीको हकमा त्यो देखिँदैन ।

सरकारको विद्यमान मापदण्डअनुसार उपप्रधान तथा रक्षामन्त्री खड्काको सुरक्षामा सेनाको एउटा टुकडी र प्रहरीको पीएसओ खटिएको छ । प्रहरीको पीएसओ खट्ने कारण उहाँ भूतपूर्व गृहमन्त्री पनि हुनु हो । 

मन्त्रीका भाइ विदेशमा रहेको र उनी पेशाले चिकित्सक हुन् । दुर्घटनामा बितेकी भाइबुहारी पनि मेडिकल डाक्टर नै हुन् । डाक्टर भाइ कर्णाली प्रादेशिक अस्पतालका निर्देशकको जिम्मेवारीमा छन् । तर मन्त्रीकी सिभिल बुहारीको ड्युटीमा सशस्त्रका कर्मचारीलाई कसरी खटाइयो ? यो यक्ष प्रश्न हिजो रातिदेखि उब्जिएको छ ।

स्वयम् रक्षामन्त्रीको सेवामा सैनिक सुरक्षाकर्मीबाहेक सशस्त्र प्रहरी पनि खटिँदैन । चिकित्सक भाइबुहारी जो सशस्त्र सुरक्षा फौजसँग कुनै कोणबाट सम्बन्धित छैनन् । उनको ड्युटीमा अधिकारीलाई कसरी र कसले खटायो ? ‘कुन प्रयोजनको लागि खटाइयो र के उपलब्धीका लागि भन्ने कुराको कहिँकतै अभिलेख छैन,’ गृहको उच्च स्रोतले जानकारी दिएको छ ।

यसरी कोही कसैलाई खुशी बनाउन प्रभाव र पदको दुरुपयोग गरेर जनताका छोराछोरीलाई नियम विपरीत खटाउने यस्तो हर्कत किन गरियो ? अकल्पनीय दुर्घटना नहुँदासम्म जिम्मेवार पदमा रहेकाको गलत हर्कतबारे कसैलाई वास्ता हुने कुरो पनि भएन । तर, दुर्घटनापछि उत्पन्न परिस्थितिले पीडितको परिवारमा परेको कहालीलाग्दो बज्रपातको जिम्मेवारी कसले लिने ? अनि क्षतिपूर्ति कसले दिने ? र, कति दिने ? हिजो रातिको दुर्घटनाले यस्तै खालका यक्ष प्रश्नलाई उजागर गरिदिएको छ ।

टिप्पणीहरू