कोशी सच्याउन काँग्रेसका नेताहरु एकगठ

कोशी सच्याउन काँग्रेसका नेताहरु एकगठ

नेपाली काँग्रेस कोशी प्रदेशअन्तर्गत १४ वटै जिल्ला सभापतिहरुले प्रदेशको नाममा पुनर्विचार गर्नुपर्ने बताएका छन् । 

आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रदेशको नामप्रति जनतामा असन्तुष्टी पैदा भएकाले पुनर्विचार गरिनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले पहिचानवादी आन्दोलनकारी जनताले प्रदेशको नाम कोशी हटाउन गरेको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोसमेत विज्ञप्तिमा उल्लेख गरेका छन् । 

पहिचानवादीहरुको आन्दोलनमा भएको सरकारी दमनको भत्र्सना गरेका जिल्ला सभापतिहरुले घाइते आन्दोलनकारीको सम्पूर्ण उपचारको व्यवस्था गर्न केन्द्र तथा प्रदेश सरकारसँग मागसमेत गरेका छन् । प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता देखिएको उनीहरुको भनाइ छ । 

त्यस्तै, संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती–कमजोरी सच्याउने साहस गर्न सकिने उल्लेख गर्दै संयुक्त विज्ञप्तिमा यही तथ्यलाई ध्यानमा राखी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष अनुरोध गरिएको छ । 

‘नेपाली काँग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्तीकमजोरीहरुलाई सच्याउने साहस गर्न सक्छ,’ अगाडि भनिएको छ, ‘यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौं ।’

टिप्पणीहरू