चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु बालुवाटारबाट पेरिस डाँडामा

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु बालुवाटारबाट पेरिस डाँडामा

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका नेताहरु नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेका छन् । पार्टी सचिव वाङ सियाओहुईको नेतृत्वमा आएको १४ सदस्यीय टोलीले माओवादी नेताहरुसँग मुख्यालयमा शिष्टाचार भेट गरेको बताइएको छ ।

सो अवसरमा दुई पार्टीबीच थप सम्बन्ध विस्तार, सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी दुवै मुलुकका सरकारबीचमा पनि सम्बन्ध विस्तार र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

भेटघाटमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महारा, महासचिव देव गुरुङ लगायत नेताहरुको उपस्थिति थियो । 

उक्त टोलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेको थियो । बिहान चिनियाँ टोलीसँगको भेटपछि प्रधानमन्त्री दिउँसो साढे १ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुअघि चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले गरेको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएकाे छ ।

टिप्पणीहरू