छोराछोरीले सम्पत्ति कुम्ल्याएर वृद्धाश्रममा छाडेपछि...

छोराछोरीले सम्पत्ति कुम्ल्याएर वृद्धाश्रममा छाडेपछि...

– ईश्वरी राई (इशु)

दिलमाया मगर एकाबिहानै उठ्छिन्, भगवान पुकार्छिन् र छोरालाई सम्झिएर रुँदै आशिष दिन्छिन् । आफूलाई माया मारेका निष्ठुरी छोरालाई सम्झिँदै बित्छ दिन । छोरा–बुहारीले बेवास्ता गरे पनि आफूले सधैँ उनीहरूको भलो चिताउँछिन् । भन्छिन्, ‘मलाई माया मारे पनि सधैं उनीहरूलाई माया गरिरहन्छु ।’ सर्लाही घर भएकी ७० वर्षीया दिलमायाका दुई सन्तान थिए । छोरी सानैमा बितिन् । छोरालाई दुःखले हुर्काइन् । श्रीमान्को साथमा शिक्षित बनाइन् । तर बुढेसकालमा आफैँ छोराबाट टाढा भइन् । विवाह गरेका छोरा श्रीमतीको साथमा काठमाडौं आए । उनी श्रीमान्को साथ गाउँमा बस्न थालिन् । श्रीमान् छँदा जसोतसो काम गरेर जीविका चलाउने उनी अलपत्र परिन्, जब श्रीमान्ले सदाका लागि संसार त्यागे । 

एक मात्र सहारा रहेका श्रीमान्को निधनपछि विक्षिप्त भइन् । त्यही पीरले थला परिन् । हातगोडा दुख्ने रोगले सताउन थाल्यो । बिरामी आमाको खबर सुनेर छोरा गाउँ आए । आमालाई आफूसँगै राजधानी ल्याए । छोराले माया गरेर काठमाडौं ल्याउँदा खुशी थिइन्, दिलमाया । तर खुशी महिना दिन मात्र टिक्यो । छोरा–बुहारीले ‘पोई टोकेकी बूढी’ भन्दै हपार्न थाले । 

९ महिना गर्भमा राखेर जन्माएका छोरा अनि बुहारीले नानाभाँती भन्न थालेपछि बिरक्तिँदै घरबाट निस्किइन् र पशुपति मन्दिरको सडकपेटीमा बस्न थालिन् । त्यही क्रममा उनको भेट मानव सेवा आश्रमकी उपत्यका इञ्चार्ज सुमिरा लामासँग भयो । जसले उनलाई रानीवनस्थित मानव सेवा आश्रममा ल्याइन् । छोरा–बुहारीको साथबाट टाढिएकी उनले अहिले आश्रममा धेरै माया पाइरहेकी छन् । भन्छिन्, ‘यहाँ धेरै खुशी छु । छोरा–बुहारीबाट माया नपाएकी मैले आश्रममा धेरै माया पाइरहेकी छु ।’

८० वर्षकी सुलोचना राजभण्डारीलाई नपुग्दो केही छैन । राजधानीमा घर छ तर आश्रममा बास छ । १४ वर्षको उमेरमा विवाह गरेकी उनका तीन सन्तान छन् । छोरीले संसारले छोडिन् । दुई छोरालाई श्रीमान्सँग काम गरेर उच्च शिक्षा दिइन् तर श्रीमान्को निधनपछि दुःख पाइन् । सकुञ्जेल काम गरेर हुर्काएका दुई छोरालाई विद्युत प्राधिकरणको जागिरे बनाइन् । तर बुढेसकालमा छोराहरूको मायाबाट टाढा भइन् । भन्छिन्, ‘आमालाई माया गर्ने छोरी हो । तर भएकी एउटी छोरी मरिहालिन् । दुई छोराले हेलाँ गरे ।’

छोराहरूलाई उच्च शिक्षा दिएर जागिरे बनाए पनि संस्कार दिन नसकेको उनको गुनासो छ । ‘मैले नै छोराहरूलाई संस्कार दिन सकिनँ होला । त्यसैले उनीहरूको माया पाइनँ’, उनले सुनाइन् । डाँडाको घाम भइसकेकी सुलोचनाले कतैबाट माया पाइनन्, त्यसैले २०७६ सालदेखि हिमालय वृद्धाश्रममा बस्न थालेकी हुन् । ‘मलाई कसैले माया गरेन, त्यसैले घर छोडेर आश्रम आएँ’, उनले भनिन् । 

आफू चार वर्षदेखि वृद्धाश्रममा बस्न थालेको खबर थाहा पाए पनि छोरा–बुहारीले बेवास्ता गरेको बताउँछिन् । ‘म यो आश्रममा बसेको सबैलाई थाहा छ तर के गर्नु कोही लिन आउँदैन ।’ वृद्धभत्ता आएको दिन भने आश्रम आएरै छोराले बैंक लैजान्छन् र सबै पैसा लैजान्छन् । आफूले वृद्धभत्ता माग्दा छोराले भन्ने गर्छन्, ‘तपाईंलाई किन चाहियो पैसा, हामी बचत गरेर राखिदिन्छौँ ।’ सास रहँदा खर्च नदिएको गुनासो गर्दै भन्छिन्, ‘मेरो किरिया खर्च थुपारेर राखेको होला ।’ वृद्धभत्ता लिन आउँदा छोराहरूले भन्ने गर्छन्, ‘आमा, केही समय पर्खनुहोस् है, हामी लिन आउँछौँ ।’ छोराहरूले झुटो बोलेको ती वचन नै अहिले सुलोचनाको जिउने आधार बनेको छ । 

चरिकोटकी चेली

आफूले जन्माएकी छोरीको नामै सुन्न चाहँदिनन्, चरिकोटकी माइली तामाङ । ७२ वर्षकी उनी छोरीलाई घृणा गर्छिन् । छोरी सानु छँदा उसैको लागि दुःख गरेकी माइली अहिले तिनै छोरीलाई देख्न सक्दिनन् । भन्छिन्, ‘मेरो कोखै बैगुनी रहेछ, त्यसैले अहिले छोरी भएर पनि दुःख पाइरहेकी छु ।’

सानै उमेरमा विवाह गरेकी माइलीको एउटा छोरी छिन् । जसको स्याहारमा आफ्नो पूरै जीवन दिइन् तर छोरीकै आँखाको कसिंगर बनिन्, माइली । जवानीमै श्रीमान् गुमाइन् । दुःख गरेर हुर्काइन् तर छोरीले नै बेवास्ता गरिन् । ‘छोरी सानो हुँदा मर्ला भन्ने पीर, ठूलो हुँदा मार्छ भन्ने डर । छोराछोरी भएर पनि सुख छैन,’ उनी भन्छिन् । बुढेसकालको सहारा बनेकी छोरी आमालाई छोडेर काठमाडौं भागिन् । छोरीले छाडेर गएपछि एक्लै बाँच्न थालिन्, माइली । उमेर ढल्दै जाँदा काम गर्न नसक्ने भइन् । गाउँलेहरूले काठमाडौं पठाइदिए । गाउँबाट काठमाडौं आएर बेसहारा भएकी उनी ललितपुरको मानव सेवा आश्रममा बस्न थालिन् । त्यहाँ बसेको चार वर्ष भयो तर कसैले खोजी गर्दैनन् । ‘मेरी छोरीलाई थाहा रहेछ, म आश्रममा छु भनेर तर उसैले मलाई वास्ता गर्दिन’, आफ्नी छोरीबारे सुनाउँछिन्, ‘उनी राम्रै कम्पनीमा काम गर्दिरहिछन् तर मलाई पाल्न सक्दिनँ भनेर गइन् । अब मलाई उसको केही आश छैन ।’ छोरीको माया नपाए पनि आश्रममा खुशी छिन् । भन्छिन्, ‘यो आश्रम मेरो घर हो । यहाँका मान्छे नै मेरो परिवार हो । म यहाँ धेरै सुखी छु ।’

हिमालयमा हिमा

हिमालय वृद्धाश्रममा १२ वर्षदेखि बस्दै आइरहेकी छिन्, हिमादेवी बस्नेत । उनलाई छोरीले नै आश्रममा राखिदिएकी हुन् ।  २० वर्षको उमेरमा विवाह गरेर सिक्किमबाट रामेछाप पुगेकी हिमाले कहिल्यै सुख पाइनन् । २३ वर्षको उमेरमा श्रीमान् गुमाएकी उनले छोरीलाई दुःखले हुर्काइन् । अरुको घरमा काम गरेर कक्षा १० सम्म पढाइन् । तर, एसएलसी फेल भएपछि छोरीले छाडेर इण्डिया भागिन् । छोरीको सम्झनामा निराश भएकी उनी मित भाञ्जाको साथमा २०५० सालमा काठमाडौं आई राजधानीको लैनचौरमा बस्न थालिन् । भाञ्जाको घरमा डेरा जमाएर बसिरहेकी हिमाले २०६८ सालमा आफ्नी छोरी नेपालटारमा बसेको थाहा पाइन् र १८ वर्षपछि भाञ्जाको घर छोडेर छोरीको घर बस्न थालिन् । झण्डै दुई दशकपछि छोरीलाई भेट्दा खुशी थिइन् तर आफूलाई थाहै नदिई विवाह गरेकोमा दुःखी भइन् । ‘छोरीले मलाई खबर नगरी विवाह गरेकोमा दुःखी भएकी थिएँ तर नाति देखेर खुशी भएँ’, उनले भनिन् । सुरुवाती दिनमा छोरी र ज्वाइँले गरेको व्यवहार देखेर दंग थिइन् । साता नबित्दै छोरी–ज्वाइँको रबैया नै बदलियो ।

उनलाई छोरी–ज्वाइँले अपमान गर्न थाले । छोरीको मायाले जसोतसो आफूलाई सम्हालिरहेकी थिइन्, हिमादेवी । छोरीले नै ‘तँ बूढीलाई अब म पाल्न सक्दिनँ, मेरो घरबाट निस्किएर जा !’ भनेपछि छानाबाट खसेझैँ भइन् । छोरीले नमीठो वचन लगाएपछि पनि रुँदै भनिन्, ‘तैँले पाल्न सक्दिनस् भने आश्रममा लगेर राखी दे ।’ हिमाको कुरा मानेर उनले आमालाई नयाँ बसपार्कको हिमालय वृद्धाश्रममा राखिदिइन् । पहिलोपटक आश्रम पुगेकी उनी खुबै रोइन्, छोरीको यादमा तर विस्तारै बिर्सन थालिन् । ‘छोरीले मलाई माया गरिन भने म मात्र किन उसको यादमा रुने ? त्यसैले मैले छोरीलाई बिर्सन थालेँ,’ उनले भनिन् । एघार वर्षदेखि छोरीको अनुहार देखेकी छैनन् । त्यही पनि खुशी छिन्, हिमादेवी । ‘जहाँ बसे पनि एकमुठ्ठी सास फ्याल्नु त हो नि, म यो आश्रममा अहिले धेरै खुशी छु । छोरीले नदिएको माया यहाँ पाइरहेकी छु’ उनले भनिन् । 
 

टिप्पणीहरू