सूचना प्रविधिमा थप विदेशी लगानी भित्र्याउन नयाँ पहल
सरकारले सूचना प्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत् वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोकिने बताउनुभएको छ ।
उहाँले सूचना प्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाउने जनाउनुभयो । साथै, सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय र सफ्टवेयर खोल्न वा कार्यक्रम र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न दिने उहाँले जानकारी दिनुभयो ।
यस्तै, प्रचलित कानूनअनुसार अनुमति लिनुपर्ने उद्योगबाहेक विदेशी लगानी खुला गरिएका उद्योग लगानी भित्र्याउन स्वचालित प्रक्रियाबाट स्वीकृति दिने अर्थमन्त्रीको भनाइ छ । अबदेखि सो क्षेत्रमा विदेशी लगानीबाट आर्जित आय पुनः लगानीमा स्वीकृति नचाहिने व्यवस्था गरिने समेत उहाँले बताउनुभयो ।
टिप्पणीहरू