विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरका विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामारकरणका विरोधी तथा पहिचान पक्षधरले आन्दोलन घोषणा गरेपछि सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

विराटनगरको भित्री भागमा आज बिहान ६ बजेदेखि अनिश्चित समयको निम्ति निषेधाज्ञा जारी गरिएको छ । जसअनुसार  प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास र जिल्ला प्रशासन कार्यालय लगायत क्षेत्रमा धर्ना, जुलुस, र्याली निकाल्न पाइनेछैन ।

भोलिदेखि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन शुरु हुँदैछ । सोही अधिवेशनलाई ध्यानमा राखेर आजदेखि सर्वसाधारण र सवारी साधन आवतजावत बाहेक अन्य कुनै पनि गतिविधि गर्न नपाइने सूचना जारी गरिएको हो । 

गत फागुन १७ गते प्रदेशको नामाकरण कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले भोलिदेखि प्रदेशसभा बाहिर धर्ना, जुलुस आयोजना गर्ने कार्यक्रम तय गरेको बताइएको छ ।

टिप्पणीहरू