‘र’ को टोली रातारात राजधानीमा

‘र’ को टोली रातारात राजधानीमा

पछिल्लो समय नेपाल मामिलामा चीनको बढ्दो चासोका बीच भारतीय गुप्तचर संस्था ‘र’ ले काठमाडौंभित्र पनि आफ्नो गतिविधिलाई तीव्रता दिएको छ ।

माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा जेठ ५ गते शुक्रबार उत्तरतर्फ लागेलगत्तै भैहरवाको सुनौली नाकाबाट ‘र’ को टोली नेपाल भित्रिएको थियो । लैनचौरस्थित दूतावासमा काम गरिसकेका अभयकुमारसहित तीनजनाको टोली स्थलमार्ग हुँदै काठमाडौं छिरेको हो । उक्त टोलीमा ‘र’ चिफ सामन्त गोयलपछि अर्को महिनादेखि प्रमुख हुने सूचीका तीनमध्ये एक मानिने श्रीधर राव पनि आएको चर्चा छ । गोयलको गत वर्ष थपिएको म्याद अर्को महिना सकिँदैछ ।

भारतीय सरकारले गत वर्षको जुन २४ तारिखमा गरेको निर्णयअनुसार यो वर्षको जुन ३० सम्म उनको म्याद कायम छ । उनले अवकाश पाएपछि ‘र’ प्रमुखका रुपमा तीन दावेदारमध्ये इण्डियन पुलिस सर्भिस (आइपिएस) को १९ औं व्याचका शशिभुषण तोमर, रवि सिन्हा र श्रीधर राव हुन् । वरिष्ठताक्रमबाट भएमा शशिभुषण हुन्छन् । तर, विगतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सघन समूहमा रहेर काम गरेको र मोदी सचिवालयमा पहुँच राख्ने कारण श्रीधरलाई त्यहाँको सरकारले गुप्तचर प्रमुख बनायो भने अचम्म मान्नु नपर्ने अवस्था छ । उनी ‘र’ को एशिया प्यासिफिक हेर्ने हाकिम हुन् ।

नेपाल आएको टोलीले सोही साँझ एकजना उच्चपदस्थ भूपू सुरक्षाकर्मीसँग डिनरसहितको पहिलो भेट गरेको थियो । उनीहरू पहिला बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसे, पछि डलर अर्बपति विनोद चौधरीको मेजमानी खान ललितपुर, झम्सिखेलस्थित होटल भिभान्ता र नक्सालको म्यारियट पुगेको राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई रिपोर्ट गरेको छ । 

काठमाडौं दूतावासमा कन्सुलरसहित विभिन्न आवरणभित्र अहिले पनि ‘र’ का १३ जना गुप्तचर छन् । त्यहाँ खालि भनेको एकजना नेपालीको ठाउँ हो । त्यत्रो पल्टन काठमाडौंमै हुँदाहुँदै फेरि दिल्लीदेखि अर्को पल्टन आउनुको मतलब ‘र’ ले सानोतिनो खेला चलाइरहेको छैन भन्ने त प्रष्टै बुझिन्छ । तर, त्यस्तो के खेलो–खेतीमा ऊ लागिरहेको छ भन्ने प्रष्ट छैन । अभयकुमारको टोलीमै शुक्रवार आएका एक सुरक्षाविज्ञचाहिँ आइतबार नै दिल्ली फर्किएका छन् । टोलीका अरु सदस्यचाहिँ विशालनगरस्थित ‘र’ का स्टेशन चिफ राघवप्रसाद भटनागरको निवास पुग्नुका साथै काठमाडौंमा उनीपछिको हैसियतका अनिल गिरीसँगै विभिन्न खाले भेटघाटमा व्यस्त छन् । 
 

टिप्पणीहरू