तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित, नगरपालिका भन्छ,‘हामी केही गर्न सक्दैनौं’

तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित, नगरपालिका भन्छ,‘हामी केही गर्न सक्दैनौं’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । लामो समयदेखि पारिश्रमिक नपाएपछि स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । 

विभिन्न निकायमा पटक-पटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरिएको भन्दै कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन थालेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन, रुपन्देही जिल्ला समितिले विज्ञप्ति जारी गर्दै तलब नपाउँदा कर्मचारीहरुको मनोबल खस्किएको उल्लेख गरेको छ । 

एउटै कार्यक्षेत्रमा काम गरिरहेका कर्मचारीलाई समान व्यवहार नगरेको आरोप लगाउँदै विज्ञप्तिमा पारिश्रमिक रोक्नु अमानवीय र गैरन्यायिक भएको जनाइएको छ । 

भनिएको छ,‘एउटै कार्यक्षेत्रमा काम गरिरहेका कर्मचारीलाई समान व्यवहार नगरी, पारिश्रमिक रोक्नु अमानवीय र गैरन्यायिक हुने भएकाले कर्मचारीहरुलाई समान व्यवहार गर्न, सेवा प्रवाहमा जुट्नुपर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई आन्दोलनमा जानबाट रोक्न र स्थायी समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउछौं ।’

त्यस्तै, पारिश्रमिकबिना सेवा प्रवाहमा खटिनुपर्दा मनोबल गिर्ने भएकाले त्यसको असर काममा पर्ने संगठनको ठहर छ । कर्मचारीको तत्काल तलबभत्तालगायतका सेवासुविधा उपलब्ध गराउन उनीहरुको माग छ । अन्यथा, थप आन्दोलन र विरोधको कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुको चेतावनी छ । 

स्वास्थ्य मन्त्रालयबाट दरबन्दी भएकाले नगरपालिकाले यसबारे कुनै निर्णय गर्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । स्वास्थ्यकर्मीहरुलाई तलब दिने जिम्मा स्वास्थ्य मन्त्रालयको भएको उल्लेख गर्दै उनले भने,‘उहाँहरु स्वास्थ्य मन्त्रालयमार्फत आउनुभएको हो । त्यसैले नगरपालिकाले यस विषयमा केही गर्न सक्दैन् ।’

टिप्पणीहरू