योग्यता विवादको अर्को गोलचक्करमा रवि लामिछाने

योग्यता विवादको अर्को गोलचक्करमा रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेको योग्यतासम्बन्धी विवादमा पुनः अर्को रिट दर्ता भएको छ । 

रिट दर्तासँगै रविको प्रतिनिधि सभा सदस्य पदमा सर्वोच्च अदालतमा पुनः न्यायिक परिक्षण हुने भएको छ । प्रतिनिधि सभा सदस्यको विवादमा पेश भएको निवेदनलाई यसअघि सर्वोच्च प्रशासनद्वारा दर्ता गर्न अस्वीकार गरेको थियो । सोही निवेदनलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अस्ति दर्ता गर्न आदेश दिएको हो । 

चितवन–२ मा भएको गत वैशाख १० गतेको उपनिर्वाचनपछि सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले रविविरुध्द पुनः रिट दायर गरेका हुन् । यसअघि वैशाख २८ गते सर्वोच्च प्रशासनले रिट दरपिठ हुने आदेश दिएको थियो । 

न्यायाधीश श्रेष्ठको इजलासबाट दरपिठ खारेजसँगै हिजो रिट दर्ता भएको हो । नयाँ रिट दर्तापछि अर्को विवादले अदालतमा प्रवेश पाएको छ । सर्वोच्च प्रशासनको उक्त दरपिठ आदेशविरुध्द सफलले गत जेठ १ गते अर्को निवेदन दिएका थिए । सो निवेदनमाथिको बहसपछि न्यायाधीश श्रेष्ठको एकल इजलासले ‘नियमबमोजिम रिट दर्ता गर्नू’ भन्ने आदेश दिएपछि सुनुवाईको बाटो खुलेको हो । 

सफलले रविले पुनः नागरिकता प्राप्तिको प्रक्रिया नै पूरा नगरी जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएको दाबी गरेका छन् । त्यही नागरिकताका भरमा चितवन–२ को उपनिर्वाचनमा निर्वाचित भएकाले प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको नयाँ प्रश्न सफलले खडा गरिदिएका हुन् ।

सफलले यसअघि पनि अयोग्यताको प्रश्न उठाउँँदै रिट दायर गरेका थिए । सोही रिटमा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहरसहित सर्वोच्चले रविको सांसद पद अवैध घोषित गरेको थियो । 

गत माघ १३ गतेको उक्त फैसलाअनुरुप रवि ‘अनागरिक’ घोषित भए । प्रतिनिधि सभा सदस्य पदका लागि समेत अयोग्य भएपछि चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन भएको थियो । तर उपनिर्वाचनमा रवि नै विजयी भए । सफलले पुनः उनको योग्यतामा संवैधानिक र कानुनी प्रश्न उठाइदिएका छन् ।

टिप्पणीहरू