सभापति देउवाका कानुनी सहयोगी भन्छन् : मबिरुध्द गिरोह सक्रिय भयो

सभापति देउवाका कानुनी सहयोगी भन्छन् : मबिरुध्द गिरोह सक्रिय भयो

काँग्रेस सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनी सल्लाहकार अधिवक्ता केशवराज जोशीले जनआस्था अनलाइनमा गत जेठ ४ गते प्रकाशित समाचार तथ्यहीन भएको बताएका छन् । ‘शरणार्थी प्रकरणमा देउवाका कानुनी सहयोगीसमेत बदनाम’ शीर्षकमा प्रकाशित समाचार पर्याप्त प्रमाणबिना सम्प्रेषित गरिएको उनको दाबी छ । 

जनआस्था कार्यालयमा लिखित खण्डन पठाउँदै भन्छन् - ‘नियोजित रुपमा चरित्रहत्या गर्ने मनशायले समाचार प्रकाशन गरिएको छ ।" सभापति देउवाको कानुन विज्ञको रुपमा प्रधानमन्त्रीको सचिवालयमा काम गरेको बताउँदै उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको जनाएका छन् । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग प्रधानमन्त्रीको कार्यालय र निवासबाहेक अन्य ठाँउमा भेटघाट नगरेको पनि उनको ठोकुवा छ ।

उनले भनेका छन्, ‘बालकृष्ण खाँण गृहमन्त्री हुँदा उहाँसँग प्रधानमन्त्री कार्यालय र निवासलगायत प्रधानमन्त्री भेटघाट गर्न आउँदाबाहेक अरु ठाँउमा भेट भएको गरेको छैन । भेटघाट गराइएको भन्ने विषय मिडियाबाट थाहा पाउँदैछु । मैले त्यस्तो सहजीकरण गरेको पनि छैन ।’

आफू कुनै पनि मेनपावरसँग संलग्न नरहेको र कसैलाई पनि कामका लागि विदेश नपठाएको उनको दाबी छ । ‘कसैलाई विदेश पठाउने काममा नै संलग्न नभएपछि रकम लिने प्रसङ्ग नै आउँदैन ।’, खण्डनमा उल्लेख छ । 

आफू तत्कालीन श्रममन्त्रीको कानुनी सल्लाहकार भएको स्वीकार्दै उनले विदेश पठाउने नाममा कुनै मेनपावर र कर्मचारीलाई दबाब नदिएको बताएका छन्  । जोशी भन्छन्, ‘मेराविरुद्ध एकैचोटी धेरै वटा न्युज पोर्टलमा समाचार छापिएको पाइयो । गिरोहले एमाले निकट चक्रपथ डट कमसँगै जनआस्थालाई पनि एउटै समाचार उपलब्ध गराएर चरित्रहत्याको प्रयास गरेको रहेछ,यसमा गगनहरुको समूह सम्लग्न रहेको आशंका छ ।’

यो पनि...

शरणार्थी प्रकरणमा देउवाका कानुनी सहयोगीसमेत बदनाम

टिप्पणीहरू