उपप्रधान तथा गृहमन्त्रीलाई व्यवसायीहरुको ज्ञापन
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।
मञ्चका अध्यक्ष धनलाल जैसीले आज गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गरेका हुन् ।
वैदेशिक रोजगार ऐन, २०६४ ले तोकिएको धरौटी राखी वैदेशिक रोजगार विभागबाट ईजाजतपत्र प्राप्त मेनपावर कम्पनीहरुलाई मात्र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कामदार पठाउने व्यवस्था छ ।
तर, शैक्षिक परामर्शदाताको अनुमति लिएका कन्सलटेन्सीले अमेरिका, युरोप, क्यानडालगायत देशमा वर्कपर्मिट भिसामा पठाइदिने प्रलोभनमा युवायुवतीबाट करोडौँ रकम ठगेर उनीहरुलाई अलपत्र पार्ने गरेको मञ्चले जनाएको छ ।
‘शैक्षिक परामर्शदाताको अनुमति लिएका कन्सलटेन्सीहरुले अमेरिका, युरोपेली तथा क्यानडालगायतका देशमा वर्कपर्मिट भिसामा पठाइदिने भनी रोजगार आकांक्षी युवायुवतीबाट लाखौं पासपोर्ट, करोडौं रकम लिएको र कतिपयलाई अलपत्र पारेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘विदेशमा रोजगारीको पूर्ण प्रत्याभूति नभई आकर्षक प्रलोभनमा युवायुवतीलाई विदेश पठाउँदा उनीहरुले रोजगारी नपाउने र ती मुलुकमा प्राकृतिक विपत्ति वा राजनीतिक वा सामाजिक विश्रृंखलता उत्पन्न भएमा मुलुकले उनीहरुलाई सकुशल स्वदेश फर्काउन समस्या पर्ने भएकाले यस विषयमा समयमै ध्यान पुर्याउन उपप्रधान तथा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
यसरी विदेशमा रोजगारीको पूर्ण प्रत्याभूति नभई आकर्षक प्रलोभनमा युवायुवतीलाई विदेश पठाउँदा उनीहरुले रोजगारी नपाउने र स्वदेश फर्काउन पनि समस्या पर्ने उल्लेख गर्दै मञ्चले यसप्रति गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको जनाएको छ ।
टिप्पणीहरू