तलबले पुग्दैन, ब्याज पनि चाहियो

तलबले पुग्दैन, ब्याज पनि चाहियो

हामी नेपालको सबैभन्दा बढी राजश्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत कर्मचारी हौं । गएको माघ महिनादेखि चैत महिनासम्मको तलब तथा पोशाक भत्ता नपाउँदा हाम्रो दैनिक जीवन तथा पारिवारिक जीवन कष्टकर भएको छ । परिवारले महिनाको अवधिमा पर्ने चाडपर्वहरु होली पूर्णिमा, चैते दशैं, नववर्ष २०८० मनाउन पाएन । आफ्नो दैनिक खर्च र दीर्घकालीन रोगका औषधि सेवन गर्न पनि मुस्किल भयो । ऋणबाट चलाउन बाध्य भयौं । 

यो तीन महिनाको अवधिमा बैंकबाट ऋण लिएकाले किस्ता तिर्न नसकेर उल्टो ब्याज थपिएको छ । चैत मसान्तमा बालबच्चाको फि सबै चुक्ता गर्नुपर्ने हुन्छ । नत्र बच्चाहरु परीक्षा दिनबाट बञ्चित हुन्थे । यो पनि ऋणबाटै चलाइयो । वैशाख महिनाको शुरुमै बच्चाहरुको भर्ना गर्ने, किताब कापी किन्ने सबै ऋणबाट चल्नुपर्ने भयो । यस्तो अप्ठ्यारोले राजस्व समूहका खरिदारदेखि प्रमुख भन्सार अधिकृतसम्म ४८ जनालाई केही फरक पर्दैन । उहाँहरुका लागि तलब भत्ता कूल आम्दानीको ज्यादै सानो अंश हो । 

राजश्व समूहभन्दा बाहिर अन्य समूहका कर्मचारीहरु सुब्बादेखि अधिकृतसम्म जम्मा १३ जना छन् । ५ जना दरबन्दीभन्दा बाहिरका हुन् । श्रेणीविहीन कर्मचारीहरु कार्यालय सहयोगी र हलुका सवारी चालक गरी ३० जनाको हाराहारीमा  छन् । करिब ४३ जना कर्मचारीलाई तीन महिनाको तलब र भत्ता नपाउँदा दैनिकी कष्टकर हुँदै गएको छ । दुःखको कुरा नेपाल सरकारको अन्य निकायका कर्मचारीले महिनाको मसान्तमा तलब भत्ता लिइरहेका छन् । हामीले लेखा शाखामा कुरा राख्दा पैसा छैन, दरबन्दी मिलेको छैन, वैशाख मसान्तसम्म नि के हो भन्न सकिँदैन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिन्छन् । दरबन्दी मिलेको छैन भने तीन महिनासम्म के हेरेर बसेका छन् ? अरु कार्यालयमा तलब भत्ता खुवाउन पैसा हुने, यहाँ किन नहुने ? यो कुरा नेपाल सरकारका भन्सार विभाग, वीरगञ्ज भन्सार कार्यालय साथै कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सालाई सोध्न चाहन्छौं । 

के हामीलाई तीन महिनाकै ब्याजसहित तलब भत्ता दिइन्छ त ? नत्र कार्यालयको कमजोरीले लाग्ने ऋणको ब्याज कति बोक्ने ? सम्बन्धित निकायले हाम्रो तीन महिनाको तलब तथा भत्ता दिन पहल गरोस् । 

– वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत पीडित कर्मचारीहरू
 

टिप्पणीहरू