मन्त्रीद्वारा पतिको निम्ति पाँच दिन नेपाल बन्द

मन्त्रीद्वारा पतिको निम्ति पाँच दिन नेपाल बन्द

सर्वोच्च अदालतले यसअघि तल्लो तहका अदालतबाट भएका जन्मकैदको फैसलालाई सदर गरेपछि रेशम चौधरीको समर्थनमा नेपाल बन्दको घोषणा गरिएको छ । उनी संरक्षक र श्रीमती तथा मन्त्री रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले आजदेखि तीन दिन राँके जुलुस र त्यसपछि पाँच दिने नेपाल बन्दको घोषणा गरेको छ ।

सरकारलाई तीन दिनको अल्टिमेटम दिएको र उक्त समयभित्र माग पूरा नभए सशक्त आन्दोलन गर्न लागिएको बताइएको छ । जसअनुसार आजदेखि शुक्रबारसम्म देशव्यापी मसाल जुलुस हुनेछ ।शुक्रबारसम्म माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर शनिबारदेखि बुधबारसम्म नेपाल बन्द हुने भनिएको छ ।

टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका चौधरीलाई सर्वोच्च अदालतले हिजो सफाइ दिन अस्वीकार गरेपछि उक्त कार्यक्रम घोषणा गरिएको हो । जन्मकैदको फैसलाविरुध्द उनले सर्वोच्चमा पुनरावेदन दिएका थिए ।

 

तर सर्वोच्चले यसअघि कैलाली जिल्ला र दिपायल उच्च अदालतले गरेको फैसलालाई नै सदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई सफाइ नदिने फैसला सुनाएको थियो । 

टीकापुर घटनामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय गरेको थियो । त्यसपछि उच्च अदालतमा पुनरावेदन गएका चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर भएको थियो ।

उनीविरुद्ध २०७२ भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र एक शिशुसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ ।

टिप्पणीहरू