रातो मच्छिन्द्रनाथको निहुँमा नगरपालिकाहरुवीच मारामार

रातो मच्छिन्द्रनाथको निहुँमा नगरपालिकाहरुवीच मारामार

ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाबीच रातो मच्छिन्द्रनाथ प्रतिमूर्तिको विषयलाई लिएर भएको विवादले झनझन् उग्र रुप लिएको छ । महानगरपालिकासंग सरसल्लाह नगरिकन कीर्तिपुरमा स्थापित प्रतिमूर्ति हटाउने कि राख्ने भन्ने विषयमा भएको विवाद ६ महिना बितिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन । 

काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्रा ललितपुरको रातो मच्छिन्द्रनाथ रथयात्रामा एउटै मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ । मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाएर सार्वजनिक स्थानमा राख्ने गरेको इतिहास नै छैन । तर,कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित प्यंगःथांमा प्रतिमूर्ति स्थापना गरिएपछि विवाद उत्पन्न भएको छ । 

सुखी गछें समाजको अगुवाइमा गत मंसिर १५ गते त्यहाँ मूर्ति प्रतिस्थापन गरिएको थियो । काठमाडौं महानगरपालिकाको १७ लाख रुपैयाँ सहयोगमा बनाइएको मूर्ति एक समारोहकाबीच मेयर बालेन्द्र साहले नै हस्तान्तरण गरेका थिए । त्यसपछि सयौं भक्तजनले मूर्ति कीर्तिपुर लगेर प्रतिस्थापन गरेका हुन् ।

"उहाँहरुले एउटा निष्कर्ष निकाल्नै पर्छ । कुनै जानकारी बिना प्रतिमूर्ति स्थापना गर्दा यहाँ यत्रो बबाल भयो । अहिले टुंगो लगाउनसमेत हम्मेहम्मे परेको छ"

मूर्ति स्थापित गरेपछि त्यहाँ विवाद निम्तिएको हो । विभिन्न संघसंगठनले प्रतिमूर्ति हटाउन माग राख्दै विज्ञप्ति निकालेपछि ललितपुर महानगरपालिकाले पनि त्यसबारे जानकारी पाएको हो । यता, मच्छिन्द्रनाथका पुजारीहरुको पानेजु संघले पनि विरोध गर्यो । 

रातो मच्छिन्द्रनाथ जात्राका सरोकारवालाहरुले प्रतिमूर्ति स्थापना गर्नु धर्म र संस्कृतिको मर्मविपरीत भएको भन्दै असन्तुष्टि व्यक्त गरे । गत चैत १४ गते ललितपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकले उक्त मूर्ति हटाउने निर्णय गर्यो । 

ललितपुरका मेयर चिरिबाबु महर्जनले मूर्ति गुठी संस्थानलाई हस्तान्तरण गर्ने बताएका थिए । सोहीअनुसार गत वैशाख २३ गते त्यहाँबाट मूर्ति हटाइयो । सो मूर्ति कीर्तिपुर नगरपालिकाको भवनमा राखिएको थियो । 

मूर्ति कहाँ लैजाने भन्नेबारे छिनोफानो हुन नसक्दा लामो समयदेखि नगरपालिकाकै भवनमा थन्किएर बसेको छ । ललितपुरले इतिहास कायम राख्नका निम्ति एउटाभन्दा बढी मूर्ति राख्न नपाउने अडान लिएको छ । 

यता, कीर्तिपुरले बनिसकेको मूर्ति कहाँ लैजाने ? भनेर ललितपुरमाथि नै प्रश्न तेर्स्याउँदै आएको छ । जसले गर्दा मूर्ति बनाउन लागेको लगानी ‘बालुवामा पानी हालेसरह’ हुने देखिएको छ । मूर्तिको विवाद सुल्झाउनका लागि आज बिहानदेखि ललितपुर महानगरपालिकामा बैठक बसेको थियो । 

काठमाडौं र ललितपुर महानगरपालिकासहित कीर्तिपुर नगरपालिकाका पदाधिकारीहरुको बैठकले जेठ ४ गतेभित्र मूर्ति व्यवस्थापनको निर्णय गरेको छ । दुई दिनको समय दिँदै ललितपुरले कीर्तिपुरलाई पर्सिसम्म निर्णयबारे जानकारी गराउन भनेको छ । 

कीर्तिपुरका स्थानीयबासी र सरोकारवालालाई मूर्ति व्यवस्थापनको जिम्मा दिइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । ‘महानगरले पर्सिसम्मको समय दिएको छ । उहाँहरुले एउटा निष्कर्ष निकाल्नै पर्छ । कुनै जानकारी बिना प्रतिमूर्ति स्थापना गर्दा यहाँ यत्रो बबाल भयो । अहिले टुंगो लगाउनसमेत हम्मेहम्मे परेको छ’, उनले भने । 

यता, कीर्तिपुरका मेयर राजकुमार नकर्मीले भोलिको बैठकले निष्कर्ष निकाल्ने जानकारी दिए । पानेजुहरुकै सहमतिमा बनाइएको मूर्ति अहिले आएर विवादमा परेपछि नगरपालिका तनावमा रहेको उनको भनाइ छ ।
 

टिप्पणीहरू