यसकारण एक वर्ष लुकाइयो नक्कली शरणार्थी ठगीको जाहेरी

यसकारण एक वर्ष लुकाइयो नक्कली शरणार्थी ठगीको जाहेरी

नक्कली शरणार्थीका नाममा ठगी प्रकरणमा पीडितहरुले एक वर्षअघि नै प्रहरीमा जाहेरी दिएका थिए । आफूहरु ठगिएको बताउँदै कतिपय गत वर्षको वैशाखमै प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दर्ता गर्न पुगेका थिए । 

पीडित मात्र नभए त्यतिबेला दाङका तत्कालीन सांसद बुद्धिराम भण्डारी पनि प्रहरी कार्यालयमा धाएका थिए । सांसद र पीडितको दबाबपछि अघिल्लो वर्षको जेठमा बिचौलिया सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरियो । तर पक्राउ परेकै दिन उनीहरु छुटे । त्यसपछि ठगी प्रकरण झण्डै एक वर्षसम्म सामसुम रह्यो ।

अहिलेसम्म अनुसन्धान दबाइनुमा काँग्रेस र एमालेको माथिल्लो नेतृत्वका साथै गृह मन्त्रालयका उच्च पदाधिकारीको मिलेमतो रहेको आशंका त्यतिबेलै एकथरीले गरेका थिए । यति ठूलो ठगी  काण्डमा गृह मन्त्रालय र प्रहरीले किन चासो दिएन ? २०७९ वैशाखमै पक्राउ परेका व्यक्तिलाई छुटाउन कसले दबाब दियो ? त्यसको चुरो अहिले आएर खुल्न थालेको हो । 

पीडित नै लाइन लागेर प्रहरीमा जाहेरी दिन पुगेपछि यतिबेला घटनाले नयाँ मोड लिएको हो । पछिल्ला घटनाक्रमले काँग्रेस–एमालेका नेता, तत्कालीन गृहमन्त्री र गृह सचिवकै मिलेमतोमा विचौलियालाई छुटाइएको रहस्योद्घाटन गरेको छ । 

पीडितले जाहेरीमा उल्लेख गरेअनुसार विचौलियाहरूले अमेरिका पठाउने भन्दै असुलेको रकम गृह मन्त्रालयकै माथिल्लो तहमा रहेका व्यक्तिलाई बुझाएका थिए । जाहेरवाला पीडित अमेरिका उड्न नपाउँदै गत मंसिर ४ गते मुलुकमा नयाँ आमनिर्वाचन पछि सरकार फेरिएकाले सबथोक उलटपुलट भएको हो ।

अमेरिका जाने सपना बोकेका पीडितको घरखेत गुमेपछि न्यायको याचनाका लागि प्रहरीसमक्ष पुगेका थिए । २०७९ जेठमा पक्राउ पक्राउ परेका बिचौलियाहरू तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेको साँठगाँठमा छुटेको आशंकालाई घटनाक्रमले स्थापित गर्ने सम्भावना बढेको  छ । 

सचिव पाण्डे र विचौलिया दुलालबीच ह्वाट्सएपमा कुराकानी भएको प्रमाण पनि प्रहरीले जुटाइसकेको छ । सरकार फेरिए पनि गृह मन्त्रालयमा दुलालसहितका विचौलियाको जगजगी रहेको त्यहाँ कार्यरत तल्लो तहका कर्मचारीले समेत बताएका छन् । 

त्यतिबेला गृह प्रशासन आफ्नो हातमा लिए पनि २०७६ जेठमा भुटानी शरणार्थीको स्थायी समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा गठित कार्यदलका व्यक्तिहरु विचौलिया गिरोहकै स्वार्थमा ‘फिट’ गरिएको घटना बाहिरिनुले पनि अहिले सबै तथ्य खुलेको हो । प्रहरीको प्रारम्भिक छानबिनले गृह मन्त्रालयबाटै कार्यदलको प्रतिवेदन विचौलियाको हातमा पुर्याएको ठहर गरिसकेको छ । 

पन्थी प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको नाम थपेर रकम उठाइएको थियो । गृहका उच्च अधिकारीहरुको भर परेर नै पीडितले पैसा बुझाएका थिए । पीडितले प्रहरी बयानमा हाल पक्राउ परेका बाहेक काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा, बालकृष्णकी श्रीमती मञ्जुसम्मलाई आरोप लगाएका छन् । 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं निकट स्रोतले दिएको जानकारीअनुसार पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा मतियार रहेका अन्य व्यक्तिविरुद्ध प्रमाण संकलनका लागि प्रहरीलाई निर्देशन दिइएको छ । घटनाको श्रृङ्खलाले अपराधको सुरुवात नै कार्यदल गठनबाट प्रारम्भ भएको देखिनआएको छ । जसमा गृह प्रशासनकै प्रत्यक्ष संलग्नता देखिएको हो । 

त्यतिबेलै परेको जाहेरीमा छानबिन गरेको भए थप क्षति हुनबाट जोगिने अवस्था थियो । पीडितका भनाइ र घटनाक्रमले शरणार्थीको नयाँ नाम थप्ने कलुषित मनसायसहित विचौलिया गिरोहको योजनामा पन्थी कार्यदल बनेको आशंकालाई पुष्टी गर्दछ । छानबिन तन्किँदै जाँदा तत्कालिन सरकारको नेतृत्वसम्म पुग्ने भएकाले टाउको जोगाउन अनुसन्धान र अभियोजनमा हस्तक्षेप हुने आशंका पनि बिस्तारै बढ्न थालेको हो ।

टिप्पणीहरू