आरजूको भनिएको अडियो तत्काल छानबिन गरियोस् : नेविसंघ

आरजूको भनिएको अडियो तत्काल छानबिन गरियोस् : नेविसंघ

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको उजुरीमाथि छानबिन हुन नसक्नु दुःखद् रहेको भन्दै तत्काल सो अडियोको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । 
‘काँग्रेस नेतृ डा.आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानबिनको लागि उहाँले दिनुभएको उजुरीमाथि छानबिन हुन नसक्नु दुःखद छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल सो अडियोको छानबिन गरी राणाले माग गरे जस्तो सत्यतथ्य सार्वजनिक गर्न पनि नेविसंघ प्रशासनसँग जोडदार माग गर्दछ ।’

देशकै इज्जतमाथि प्रश्न उठाउने गरी भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्दै नेविसंघले शरणार्थी प्रकरणलाई लिएर निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको जनाएको छ । 

त्यसैले, नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी नागरिकलाई झुठो अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका निम्ति सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन नेविसंघले आग्रह गरेको छ ।
 

टिप्पणीहरू