सात दिनदेखि अनशनरत बिनुको स्वास्थ्य अवस्था बिग्रिँदै

सात दिनदेखि अनशनरत बिनुको स्वास्थ्य अवस्था बिग्रिँदै

न्यायको माग गर्दै माइतीघर मण्डलामा आमरण अनशन बसेकी बिनु यादवको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । पीडितलाई कारवाहीको माग गर्दै पछिल्लो सात दिनदेखि अनसनरत उनी अस्वस्थ भएकी हुन् । 

न्याय चाहियो भन्दै गत बुधबार सर्वोच्च अदालतको मूलगेटअगाडि अनशन बस्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएपछि उनी वसन्तपुर पुगेकी थिइन् । त्यहाँबाट पनि लखेटिएपछि माइतीघर पुगेकी उनको माग सम्बोधन अझै भएको छैन । प्रहरीले पालसमेत टाँग्न नदिएपछि उनी खुला छतमुनि रात कटाउँदै आएकी छिन् । 

रामेछापको गोठगाउँका प्रदीप कठायतसंग प्रेम विवाह गरेकी उनले आफूमाथि बारम्बार बलात्कार भएको बताउँदै आएकी छिन् । जबरजस्ती करणीको उजुरी लिन नमान्ने कालिमाटीका तत्कालीन डिएसपी सुरज कार्कीलाई कारबाही गर्न उनको माग छ । त्यस्तै, प्रसुति गृहमा गराइएको स्वास्थ्य परीक्षणका आधारमा अनुसन्धान गरी बलात्कारी प्रदीपलाई कानुनको दायरामा ल्याउन भनेकी छिन् । 

बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गर्ने, आफूलाई बेवारिसे बनाउने, इच्छाविपरीत सम्बन्धविच्छेद र न्यायबाट वञ्चित गराउने न्यायाधीश बद्रीप्रसाद ओलीमाथि पनि कारबाही हुनुपर्ने बिनुको माग छ । 

पटक-पटक बलात्कारको प्रयास गर्ने र यातना दिने आफ्नै काका ससुरा पवन कठायत र अपराधिक क्रियाकलापबाट जोगिन शुरुमा विवाह गर्ने अनि आफू बचेपछि सजिलै उन्मुक्ति पाउन सम्बन्धविच्छेद गर्ने प्रदीपलाई पनि कारबाही गर्नुपर्ने बिनुको भनाइ छ । उनले घटनाको शुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाइएको आरोप पनि लगाउँदै आएकी छिन् । प्रहरी प्रशासन, अनुसन्धान अधिकृत र न्यायाधीशलाई अनुसन्धानमा तानेर छानबिन गर्नुपर्ने माग उनको छ । 

महिला अधिकारकर्मी जस्मिन ओझाले उनको स्वास्थ्य अवस्था एकदमै कमजोर बनेको जानकारी दिइन् । नागरिक भोकभोकै सडकमा मर्न लागिसक्दा पनि सरकारद्धारा तिनको समस्या समाधानका लागि कुनै चासो नदेखाइएको उनको आरोप छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठक बोलाएर समिति गठन गर्ने बताएको उल्लेख गर्दै उनले भनिन्,‘अब हामी कसैको आश्वासनमा पर्दैनौं । पहिल्यैदेखि समिति बनाउने भन्दै पीडितको आँखामा छारो हाल्ने काम भइरहेको छ । पटकपटक आन्दोलन गरिसकेका छौं । राष्ट्रिय इस्यु बनिसक्यो तर पनि वेबास्ता गरिएको छ । अब राज्यले नागरिक बचाउँछ कि मर्न दिन्छ, हेरौं ।’

बिनुले न्यायको माग गर्दै यसअघि पनि पटकपटक आन्दोलन गरिसकेकी छिन् । उनले केही समयअघि सर्वोच्चको गेटमा रातो रङ्ग छ्यापेर विरोध जनाएकी थिइन् ।

टिप्पणीहरू