भोलिदेखि एमडीएमएस प्रणाली लागू हुने

भोलिदेखि एमडीएमएस प्रणाली लागू हुने

नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ १ (भोलि) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । 

नेपालमा मोबाइल सेटहरुको प्रयोग र आयातलाई व्यवस्थित गर्न प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो । प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । 

त्यस्तै, नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्ति प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वंयले तोकिएको कागजातहरु प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरनको सूचना उल्लेख छ । 

यसका लागि सम्बन्धित व्यक्तिले राहदानी वा नागरिकताका साथमा डिपार्चर तथा अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोडिङ्ग पेश गर्नुपर्ने छ । 

साथै, नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको यकिन गरी खरिद गर्न अनुरोध गर्दै प्राधिकरणले मोबाइल आयातकर्ता वा बिक्रेताले आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको पूर्वस्वीकृति लिई दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न सचेत गराएको छ ।
 

टिप्पणीहरू