प्रवासी नेपाली एकता मञ्चको अधिवेशन आउँदो असारमा

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन आउँदो असारमा
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीनिकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च युरोपको अन्तर्राष्ट्रिय कमिटी प्रथम अधिवेशन आउँदो असारमा हुने भएको छ । 

पार्टीको स्थायी कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद साहको अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले अधिवेशन आगामी असार २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । 

अधिवेशनमा राजनीतिक,सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिने मञ्चका सहसंयोजक सुभाष पोखरेलले जानकारी दिए । 

‘पार्टीको संगठन भएकाले राजनीतिक विषयमा छलफल त हुने नै छ । तर, सँगै प्रवासमा रहेका नेपाली श्रम, सीप र पुँजीलाई कसरी भित्र्याउने ? र  विदेशमा रहेका नेपालीको मतदान गर्न पाउने व्यवस्थालगायतका विषयमा पनि गम्भीर छलफल गरिने छ,’ उनले भने ।

त्यस्तै, अधिवेशनमा प्रवासी नेपाली एकता मञ्चको ५१ सदस्यीय आयोजक कमिटी, राष्ट्रिय कमिटीबाट एक जना र कमिटीले मनोनित गरेको पाँच प्रतिशत गरी दुई सय प्रतिनिधि सहभागी हुने मञ्चका सचिव ध्रुव सुवेदीले बताए । 

उनका अनुसार अधिवेशनमा अमेरिका, युरोप, मध्यपूर्वी तथा पूर्वी एसियासहित ओसिनिया महादेशका विभिन्न ३० भन्दा बढी राष्ट्रका प्रतिनिधिले भाग लिनेछन् । 

पार्टीको महाधिवेशनकै समयमा मञ्चको पनि अधिवेशन गर्न लागिएकोले प्रवासबाट अधिवेशनमा भाग लिने प्रतिनिधिहरु थप उत्साहित भएको उनले बताए ।

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आउँदो असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुदैँछ ।

 

टिप्पणीहरू