अटेरी कर्मचारीमाथि कारबाहीको तयारी

अटेरी कर्मचारीमाथि कारबाहीको तयारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा जान अटेर गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । 

विभिन्न मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र सबै प्रदेश तथा स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई विभागीय कारबाहीको निर्देशन दिएको छ । 

मन्त्रालयका अनुसार प्रचलित कानूनबमोजिम सरुवा, पदस्थापन, कामकाजमा खटाइएका र काज फिर्ता गरिएका निकाय र कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेकाले यस्तो निर्णय गरिएको हो । 

त्यसैले, हालसम्म सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई सात दिनभित्र सोको जानकारी मन्त्रालयमा गराउन भनिएको छ । 

त्यस्तै, सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीको सम्बन्धमा रमाना लिने अवधि गुज्रिएपछि साविकका निकाय र कार्यालयबाट निजको बिदा स्वीकृत नगर्ने, नगराउने पनि परिपत्रमा उल्लेख छ । 

मन्त्रालयले रमाना नलिएमा निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजायको प्रक्रिया सुरु गरी सोको जानकारी गराउन र रमाना नलिने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्न सम्बन्धित निकायलाई अनुरोधसहित पत्राचार गर्न निर्देशन दिएको छ ।

साथै, मन्त्रालयको निर्णय कार्यान्वयन नगर्ने र नगराउने विभागीय प्रमुख, कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीमाथि पनि विभागीय सजाय हुने चेतावनी दिइएको छ ।

टिप्पणीहरू