रातभर निगरानी,बिहानै झ्यापझुप कसैलाई नभनी

रातभर निगरानी,बिहानै झ्यापझुप कसैलाई नभनी

जसको टेकोमा सरकार अडिएको छ, त्यही पार्टीका सभापतिको विश्वासपात्र भ्रष्टाचारको अभियोगमा पक्राउ पर्लान् भन्ने विश्वास हिजो बिहानसम्म धेरैलाई छँदै थिएन । तर,शीर्ष नेताहरुलाई समेत अचम्मित पार्दै प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नक्कली शरणार्थी प्रकरणमा हिजो बिहान उनकै निवासबाट गिरफ्तार गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाका 'दाहिना हात' मानिने नेता खाँण पक्राउ परेपछि राजनीतिक वृत्त गर्माएको छ ।  

सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको प्रमाण खुलेपछि पक्राउ परेका तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डेले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि उनको खोजी शुरु भैसकेको थियो । गृहजिल्ला रुपन्देहीमा रहेका उनले काठमाडौँ आएर आफैँ गिरफ्तारी दिने प्रहरीको अनुमान थियो । तर, आफूलाई प्रहरीले खोजिरहेको चाल पाएका खाँण मंगलबार काठमाडौँ आइनपुग्दै मोबाइल अफ गरेर सम्पर्कबिहीन भए । 

खासमा खाँण काठमाडौँ आइपुगेपछि पहिले अदालतबाट पक्राउ पुर्जी लिने र सामान्य हिसाबले समात्ने योजना थियो । तर,खाँणको मोबाइल अफ भएपछि प्रहरी झस्कियो । यही प्रकरणमा मुछिएका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीले छकाएर भारततिर भागेपछि चर्को दबाबमा परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले तत्कालै योजना परिवर्तन गरिहाले । र,यौटा टोलीलाई खाँणको रेक्की गर्न खटाए । 

इन्स्पेक्टर राजन लामाको नेतृत्वमा खटिएको टोली अस्ति मङ्गलवार राती चाबहिलको मैजुबहालस्थित खाँणको निवास वरपर रेक्की गर्न पुग्यो । टोलीले उनी घरमै रहेको थाहा पाएपछि तत्कालै परिसरका प्रमुख कार्कीलाई त्यसको खबर गर्यो । तर, खाँणलाई राति नै पक्राउ गर्ने कि बिहानसम्म कुर्ने भन्नेमा नेतृत्वले तत्कालै निर्णय लिन सकेन । त्यसपछि बुधबार बिहान यसबारे सल्लाह गर्न परिसर प्रमुख कार्की उपत्यका हेर्ने एआइजी श्याम ज्ञवालीलाई भेट्न रानीपोखरी गए । ज्ञवालीले पक्राउ गर्न लाइन दिएपछि परिसरका डिएसपी सत्य थापाको नेतृत्वमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अर्को टोलीसहित पक्राउ गर्न पुग्यो । 

शुरुमा प्रहरीले खाँणका निजी सहयोगी नरेन्द्र केसीलाई नियन्त्रणमा लियो । चितवनमा शिक्षकको जागिर गर्दागर्दै खाँणको सहयोगी बसेका उनले पाँच लाख बुझेको प्रमाण भेटिएपछि प्रहरी उनको खोजीमा थिए । केसीलाई समातेपछि प्रहरीले खाँणलाई गिरफ्तारी दिन आग्रह गर्यो । तर,उनले सजिलै गिरफ्तारी दिएनन् । बरु इन्स्पेक्टर राजन लामालाई धक्कामुक्का गरे । 

अन्तत: प्रहरीले खाँण र केसी दुबैलाई पक्राउ गरी अपराध महाशाखा,मीनभवन पुर्यायो । त्यहाँ एकछिन राखेर काठमाडौँ प्रहरी परिसर टेकु लगियो । टेकुमा झण्डै पाँच घण्टा बयान लिएपछि म्याद थपका लागि सरकारी वकिल कार्यालय हुँदै अदालत पुर्याइयो । अदालतबाट तीन दिन म्याद थपको अनुमति लिएर प्रहरीले खाँणलाई टेकुमा राखेको छ । उनलाई हिरासतमा नराखी सामान्य कोठामा राखिएको प्रहरीले बताएको छ । 

खाँणको नाम पोलेका सचिव पाण्डेसँग पनि हिजै थप बयान लिइएको छ । हाल सिंहदरबार वृत्तमा रहेका उनले आफूलाई क्यान्सर अस्पताल लैजान आग्रह गरेको प्रहरीले बताएको छ । 

उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको संलग्नता रहेको भनिएको यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई र एमाले सचिव तथा प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी पनि हिरासतमै छन् । 

यस प्रकरणमा बिचौलियाको भूमिका खेलेका काठमाडौँका रामशरण केसी र मोरङका गोविन्द चौधरी मंगलबार पक्राउ परेका थिए । त्यसअघि ललितपुरका सानु भण्डारी,मोरङ स्थायी ठेगाना भएका केशवप्रसाद दुलाल,पाँचथर घर भएका टंककुमार गुरुङ,दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई यही प्रकरणमा समातिएका थिए । 

सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नाम जोडिएका एमाले सचिव रायमाझी आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार छन् । पक्राउ पुर्जी जारी भएकै दिन गृहजिल्ला अघाँखाँचीमा आयोजित एउटा कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै मञ्चमा देखिएका रायमाझीले काठमाडौँ गएर अनुसन्धानमा सघाउने बताएका थिए । त्यसपछि अर्घाखाँचीबाट साँझ बुटवल झरेका उनी आजसम्म पनि कहाँ छन् प्रहरीले पत्ता लगाउन सकेको छैन । 

पोखरासम्म पुगेको जानकारी पाएको प्रहरीले त्यसपछि रायमाझी मोबाइल नेटवर्कमै नरहेको बताएको छ । उनी भारत गएको सूचना प्रहरीसम्म आइपुगेको उच्च स्रोतले बताएको छ । यता,उनको पार्टी एमालेले हिजो सचिव पदबाट निलम्बन गरेपनि सांसदबाट हटाउन भने सभामुखलाई सिफारिस गरेको छैन । 

रायमाझीले हिजै संसद सचिवालयलाई पत्र लेखेर आफूलाई बिरामी बिदा मिलाइदिन आग्रह गरेको बताइएको छ । विना जानकारी लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदलाई सभामुखले ठाडै निलम्बन गर्नसक्ने कानुनी व्यवस्था रहेकाले पद जोगाउन रायमाझीले अज्ञातस्थलबाट पत्र लेखेका हुन् ।

पूर्वगृहमन्त्री र बहालवाला सचिव समातिएको यस घटनामा राजनीतिक तहबाट कुनै दबाब नआएकाले जुनसुकै हालतमा रायमाझीलाई समात्ने प्रहरीको अठोट छ । त्यसो त, सत्ता गठबन्धनका प्रभावशाली नेता खाँण पक्राउ गर्नुअघि प्रधानमन्त्री, गृहमन्त्री र काँग्रेस सभापतिसँग समेत कुनै संवाद नगरेको प्रहरी रायमाझीलाई त्यसै छोड्ने मनस्थितिमा देखिंदैन ।
 

टिप्पणीहरू