पूर्व गृहमन्त्रीकी पत्नीविरुध्द अडियोसहितको समाचार प्रकाशन गर्ने अनलाइन प्रतिबन्धित

पूर्व गृहमन्त्रीकी पत्नीविरुध्द अडियोसहितको समाचार प्रकाशन गर्ने अनलाइन प्रतिबन्धित

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नक्कली अडियोसहितको समाचार प्रकाशन गर्ने अनलाइनविरुध्द पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुले प्रेस काउन्सिल नेपालमा उजुर दिएकी छन् । 

गत वैशाख २३ गते ‘भुटानी शरणार्थी प्रकरणः आरजु देउवा र पूर्व गृहमन्त्री खाँणले घुस लिएको अडियो सार्वजनिक’ शीर्षकमा समाचार प्रकाशन गर्ने नेशनल डेली डटकमविरुध्द उनले उजुर दिएकी हुन् । उक्त अनलाइनले आफूलाई जोडेर नक्कली आवाजसहितको अडियो सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरुमा सम्प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गरेको उनको आरोप छ । 

उजुरीमा भनिएको छ,‘म मञ्जु खाँणलाई जोडेर नक्कली आवाजको अडियो बनाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरुमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको हुँदा उक्त अनलाइन मिडियालाई कडाभन्दा कडा कारबाही गरिपाऊँ ।’

यता, काउन्सिलले उक्त अनलाइनलाई नेपालभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपालभित्र प्रकाशन–प्रशारण गर्न नपाउने गरी उक्त अनलाइनलाई कारबाही गर्न लागिएको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले बताए । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार सो वेभपोर्टलबाट सम्प्रेषित सामग्री एकपक्षीय र पत्रकार आचारसंहिता प्रतिकूल रहेको छ । 

‘उक्त वेभपोर्टलहरुबाट सम्प्रेषित सामग्री अनुगमन गर्दा एकपक्षीय र पत्रकार आचारसंहिता प्रतिकूल भएको देखिनुका साथै उक्त वेभपोर्टल नियमानुसार दर्ता एवं सूचीकरण भएको नदेखिएको हुँदा निम्नानुसारको साइटलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि निर्णयानुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।
 

टिप्पणीहरू