१० वर्षे जनयुद्वमा धादिङ्गका को-को बिते ?

१० वर्षे जनयुद्वमा धादिङ्गका को-को बिते ?

१० वर्षे द्वन्द्वका क्रममा धादिङ जिल्लाभित्र भएका घटनाक्रम र क्षति विवरण समेटिएको पुस्तक ‘जनयुध्दमा धादिङ’ सार्वजनिक गरिएको छ । एनएस मिडियाले प्रशासन गरेको पुस्तकको आजै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लोकार्पण गरेका छन् ।   

पुस्तकमा २०५२ देखि २०६२ सम्मको सशस्त्र द्वन्द्वमा हत्या गरिएका विद्रोही पक्ष,संसदवादी दलहरु,राज्य पक्षका व्यक्तिहरु र सामान्य नागरिकहरुको विवरण समेत समेटिएको छ । तत्कालिन दलका नेता तथा कार्यकर्ता,सामान्य नागरिक,सेना,प्रहरीलगायतको क्षतिको विवरण,बेपत्ता पारिएकाहरुको विवरण पनि पुस्तकमा समेटिएका छन् । द्वन्द्वका कारण अभिभावक गुमाएका र विस्थापित भएका नागरिकको विवरणसहित संस्मरण र ऐतिहासिक तस्विरहरु समावेश गरिएका छन् । 

जनयुद्वका क्रममा धादिङमा ज्यान गुमाउने एक सय ९३ जनाको विवरण पुस्तकमा समावेश छ । पुस्तकमा उल्लेख भएअनुसार नीलकण्ठ नगरपालिकामा ४७ जना, त्रिपुरासुन्दरीमा ३३ जना, बेनीघाट रोराङमा २५ जना, सिध्दलेकमा १२ जना, ज्वालामुखीमा ६ जना, नेत्रावती डवजोङमा १४ जना, गंगाजमुनामा १० जना, खनियाबासमा ६ जना, गजुरीमा ७ जना, थाक्रेमा १३ जना, धुनीवेशीमा ११ जना, गल्छीमा ८ जना र रुबीभ्यालीमा १ जनाले ज्यान गुमाएका थिए ।   

द्वन्द्वका क्रममा विस्थापित भएका व्यक्ति तथा परिवारका ५ सय ५८ जना, अपाङ्गता भएका व्यक्ति तथा परिवार ५१ जना, अपहरणमा परेका ३३ जना, टुहुरा भएका ७ जनाको विवरण पुस्तकमा समावेश छ । यो विवरण शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तरगत द्वन्द्व प्रभावित व्यक्ति–परिवार तथा संरचनाको लगत संकलन कार्यदलबाट निकालिएको एन एस मिडियाका प्रबन्धक तथा पुस्तकका प्रधान सम्पादक नारायण सिलवालले जानकारी दिए । बेपत्ता,घाइते अपाङ्गता भएकाहरु, विस्थापितहरुको तथ्याङ्क संकलनमा सक्दो प्रयास गरेपनि केही त्रुटि र छुट हुन सक्ने भएकाले यसलाई पुर्नलेखन गर्दै सच्याउँदै जाने सिलवालले बताए । 

धादिङमा सहादत भएका अन्य जिल्लाका २४ जना माओवादी कार्यकर्ताहरुको पनि विवरण पुस्तकमा छ । जनयुध्दका अवधिमा जिल्लाभित्र भएका लडाई तथा भिडन्तमा सहभागीहरुको संस्मरण तथा अनुभवहरु पुस्तकमा छ । कालिकोटको कोटबाडास्थित सुन्थराली विमानस्थल निर्माणका क्रममा काम गरिरहेका मजदुरहरु माथि नेपाली सेनाको हेलिकप्टर आक्रमणमा गरी ज्यान गुमाउने धादिङका १८ जनाको विवरण पुस्तकमा फोटोसहित समावेश छ ।


 

टिप्पणीहरू