बालकोटमा बास,तारेखमा छुट्ने टोपबहादुरको तयारी

बालकोटमा बास,तारेखमा छुट्ने टोपबहादुरको तयारी

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार एमाले सचिव टोपबहादुर रायमाझीको व्यापक खोजी गरिएको बताएको छ । बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि एकाएक गायव भएका पूर्वउपप्रधानमन्त्री रायमाझी काठमाडौं उपत्यकामा लुकिछिपी बसेको स्रोतको दाबी छ । 

बुधबार दिउँसो गृहजिल्ला अर्घाखाँचीको औपचारिक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागी उनी साँझ बुटवल झरेका थिए । सोही राति साढे ८ बजे बुद्ध एअरको उडानमा सभामुखसँगै काठमाडौं आउन लागेका उनले साढे ९ बजेको निम्ति टिकट सारेका थिए । 

त्यही समयमा छोरा सन्दीपलाई प्रहरीले बुटवलमा पक्रेर भोलिपल्ट काठमाडौं ल्यायो । अदालतले तीन दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएपछि सन्दीप काठमाडौं प्रहरी परिसर, टेकूको हिरासतमा छन् । 

बिहीबार बिहान रायमाझीको सचिवालयले उनी स्थलमार्ग हुँदै काठमाडौं आएको बताएको थियो । तर,लगत्तै उनी भैरहवाबाटै  प्रहरीको उच्च नेतृत्वसँग सम्पर्कमा रहेको खबर फैलाइयो । 

सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटेर रायमाझीलाई पक्रन खोजिएको घटनाप्रति आपत्ति जनाउनुभयो । उहाँले पटक पटक मन्त्री बनेको व्यक्तिलाई दोबाटोबाट पक्रन खोजिएको भन्दै सरकारी रवैयाको चर्को विरोध गर्नुभएको थियो । रायमाझीले सोही दिन प्रधानमन्त्री दाहाल र प्रहरी प्रमुख वसन्त कुँवरसँग समेत टेलिफोनमा कुराकानी गरेर प्रहरी कार्यालयमा उपस्थित भई आफ्नो कुरा राख्ने बताएको स्रोतको भनाइ छ । 

तर प्रहरीले पक्राउ पुर्जी जारी गरेको चार दिन बितिसक्दासमेत थप जानकारी प्राप्त गर्न नसक्नुमा प्रहरी संगठनलाई बनावटी ‘चुनौती’ थपिएको बताइन्छ । उनी बुटवल, भैरहवा,काठमाडौं वा ललितपुरमा नभएर भक्तपुर क्षेत्रमा बसेको उच्च स्रोतको दाबी छ । ‘रायमाझी बालकोट नजिकै एक जनाको घरमा बसेको थाहा छ । राजनीतिक नेतृत्वको दबाबका कारण झ्याप्पै समात्न गाह्रो छ,’ प्रहरी स्रोतले भन्यो । 
प्राप्त जानकारीअनुसार उनी सबै सेटिङ मिलेपछि मात्रै सार्वजनिक हुने योजनामा छन् । भोलि वा सोमबार प्रहरीमा आफैँ उपस्थित भएर तारेखमा छुट्न पहल भइरहेकाले रायमाझी बालकोट एरियामा गएर बसेको बताइन्छ । यसबारे प्रहरीले ‘अनभिज्ञता’ जनाएको छ ।
 

टिप्पणीहरू