अनि, घण्टीले किन देश नघन्काओस् त ?

अनि, घण्टीले किन देश नघन्काओस् त ?

देशका प्रमुख राजनीतिक दलका जनमतमाथि धावा बोल्दै घण्टीको लहर किन आयो ? किनभने, पुराना पार्टी सच्चिएनन्, जनता दिक्दार भए । यति हुँदाहुँदै पनि जनतालाई दिक्दार बनाउने काममा सत्तारुढ दलकै नेताहरूको हानथाप चलिरहेको छ ।

भन्सार राजश्वको वृद्धिबिना राष्ट्रिय अर्थतन्त्रमा सुधार हुने छाँटकाँट छैन । सरकारलाई अर्थतन्त्रको सुधारमा चासो छैन भनौँ, भएभरका खर्च कटौती गर्दै छ । चासो छ भनौं, राजश्व वृद्धिमा योगदान दिइरहेका हाकिमलाई गलहत्याउँदै नेताका आफन्त र निकटस्थलाई पोसिँदै छ । 

राजश्व अनुसन्धान कार्यालय बुटवलका हाकिम प्रेमप्रसाद देवकोटाले भन्सार छलेर ल्याइएका १६ सय बोरा चिनीका ट्रकलाई नियन्त्रणमा लिए, सामान बरामद गरे । यसपछि तस्करको भागाभाग चल्यो । सुनौली नाकाबाट राजश्व असुलीमा निकै प्रगति पनि भयो । तर, स्याबासी पाउनुअघि नै एउटा पत्र पुग्यो, सरुवाको । एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीका पति पशुपतिबाबु पुरीलाई बुटवलमा भन्सारमा पठाउनका लागि प्रेमप्रसाद देवकोटालाई हाजिर भएको तीन महिनामै सरुवा गरियो ।

गत बुधबार पशुपतिबाबुले रमाना बुझे, प्रेम फिर्ता भए । कहिले ललितपुर जिविसको योजना अधिकृत, कहिले भौतिक मन्त्रालयमा ठेकेदारलाई लाइसेन्स दिने शाखामा बस्नुपर्ने पशुपतिले रामकुमारीको पति भएकै नाममा एकपछि अर्को फाइदा लिइरहनुपर्ने र काम गर्ने कर्मचारी अपमानित भइरहनुपर्ने कुरा जनताको तहसम्म पुग्यो भने के होला ?

एकातिर भन्सार विभागका महानिर्देशक नारायण सापकोटा तस्करी नियन्त्रण गर्ने भन्दै छन् । तर, मातहत कार्यालयमा काम गर्ने हाकिमहरू तीन महिनामै फेरिँदै छन् । राजश्व अनुसन्धानको बारास्थित पथलैया कार्यालयमा पनि त्यस्तै भयो । ललितपुर, एकान्तकुनास्थित यातायात विभागको सवारी चालक अनुमतिपत्रमा रहँदा स्रोत नखुलेको करोडौं रकम आर्जन गरेपछि अख्तियार लागेका तेजनारायण यादव अहिले पथलैया भन्सारमा पुगेका छन् । मुद्दा परेपछि माओवादी भएका तेजनारायणलाई पुरस्कृत गर्दै अहिले पथलैया पठाइएको हो ।

माओवादी र एकीकृत समाजवादीका नेताले भन्सार ताक्न नछाडेपछि कांग्रेसका नेता पनि के कमका हुन्थे र ! ‘युवा’ र ‘लोकप्रिय’ मानिने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको ‘खर्च चलाउन’ भन्दै तीर्थ खनाललाई कोहलपुर राजश्व कार्यालयमा पठाइँदै छ । विश्वप्रकाशलाई अमेरिका घुमाएदेखि ‘दुःखका दिन’ देख्नु नपरेका तीर्थले चाख्न बाँकी भन्सार कार्यालय कतै नरहने भएको छ ।
यसरी नेतापिच्छेका कर्मचारीलाई भन्सार पठाउने, भन्सार राजश्व असुली दिनदिनै घट्ने स्थिति छ । 
 

टिप्पणीहरू