लडाकु लखेट्दै बालुवाटारमा अलग्गै व्यवस्था

लडाकु लखेट्दै बालुवाटारमा अलग्गै व्यवस्था

एकातिर अयोग्य लडाकुलाई पैसा दिने कुराले सरकार बदनाम छ भने अर्कातिर प्रधानमन्त्रीको सचिवालयबाट पूर्वलडाकुहरू लखेटिएका छन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को टिम सल्लाहकार र सचिवालयसहित २० सदस्यीय छ । त्यसमध्ये चितवन पश्चिम, पूर्वविद्यार्थी र पटक–पटक अवसर पाउनेहरू नै हावी छन् । शान्ति प्रक्रियामा आएपछि माओवादीलाई धानिदिने वाइसिएल र जनमुक्ति सेनालाई अहिले सिंहदरबारदेखि बालुवाटारसम्म ‘प्रवेश निषेध’ को नीति लिइएको छ । सचिवालयसँग जोडिएर काम गरिरहेका एक पूर्वजनमुक्ति सेनाका कमाण्डर रहेको थाहा पाइएसँगै तिनलाई गलहत्याएर रेणु दाहालको क्षेत्रतिर पु¥याइएको छ । प्रचण्डको सचिवालयमा चालकका रूपमा कार्यरत थिए, नुवाकोटका विष्णुमणि खतिवडा । उनी पूर्वजनमुक्ति सेनासँग जोडिएको कुरा खुलेसँगै प्रचण्डलाई पनि थाहै नदिई सचिवालयमा रहेका केही सदस्यले त्यहाँबाट लखेटी छोरी मेयर रहेको भरतपुर महानगरतिर हुत्याइयो । उनी प्रचण्ड प्रधानमन्त्री बनेसँगै अर्थ मन्त्रालयबाट तलब खाने गरी प्रचण्डको सचिवालयमा सवारी चालक नियुक्त भएका थिए । 

खतिवडा जनयुद्धताका चौथो डिभिजनमा रहेर काम गरेका, सेनामा समायोजित भई पूर्वलडाकुको नेतृत्व गर्ने तत्कालीन कमाण्डर यामबहादुर अधिकारी ‘प्रतीक्षा’ को सवारी चालकसमेत रही उनले काम गरेका थिए । प्रधानमन्त्रीको सचिवालयमा रहेका मनहरि तिमिल्सिना र आइटी विज्ञ प्रकाश रायमाझीहरूले त्यहाँबाट लखेट्नमा भूमिका खेलेको बताइन्छ । सचिवालयमा बसेर प्रश्नयोग्य गतिविधिमा तल्लीन भएपछि खतिवडाबाट कुरा खुल्ने डरले प्रचण्डलाई थाहै नदिई उनलाई लखेटिएको बालुवाटार स्रोतले जनाएको छ । खतिवडा अहिले आन्तरिक राजश्व कार्यालय चितवनमा छन् । उनीसँगै अहिले पूर्ववाइसिएल र जनमुक्ति सेनाका मान्छेहरूलाई बालुवाटारको ढोका बन्द गरिएको छ । 

मुलुकको अर्थतन्त्र संकटग्रस्त छ । कर्मचारीलाई तलब खुवाउनसमेत विदेशी दातृ निकायसँग हात पसार्नुपर्ने स्थिति छ । यस्तो चौपट्ट अवस्थामा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार छैनन् । प्रचण्ड प्रधानमन्त्री बन्नुभएको चार महिना बितिसक्यो । पहिलो पटक प्रधानमन्त्री हुँदा चीन भ्रमणबाटै शुरु भएको थियो । तर, अहिले चीनले भ्रमणको निम्ता दिएको छैन । भारतले पनि पूर्णतः पत्याइसकेको स्थिति होइन । एक माओवादी नेता प्रश्न गर्छन्, ‘दुबै मुलुकले नपत्याएको अवस्थामा परराष्ट्र सल्लाहकारमा किन कोही नियुक्त हुँदैनन् ?’ झण्डै साढे तीन दशक राजनीति गरेका प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेललाई लगियो । प्रचण्डको सचिवालयमा सबैभन्दा बढी अवसर पाउनेमा पूर्वलडाकु सन्तु दराई (परवाना), अखिलको अध्यक्षबाट बिदा भएका रमेश मल्ल, रामदीप आचार्यहरूकै अहिले पनि बोलवाला छ ।

अहिले छोरी गंगा दाहाल स्वकीय सचिव, जेठानकी श्रीमती सावित्रा अधिकारी, छोरी रेणु दाहालका नन्दज्वाइँ बुद्धि जिसीलगायत आफन्तलाई सचिवालयमा राखिएको छ । जनसम्पर्क सल्लाहकारमा कल्पना धमलाका पति देवेन्द्र पराजुली छन् । प्रेस सल्लाहकार रहेका पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य महासंघको अध्यक्ष हुनुअघि ०७४ सालमा पनि सोही पदमा थिए । स्वकीय उपसचिवमा ओमकुमारी पौडेल, रमेश गुरागाई, सावित्री अधिकारी, गोकर्ण भट्ट छन् । यसअघि सचिवालयमा रहँदा गोकर्ण बदमासीमा मुछिएर केही दिन प्रहरीको खोरमा पुगेका व्यक्ति हुन् । यस्तै प्रेसविज्ञमा मनहरि तिमिल्सिना, प्रेस संयोजक सूर्यकिरण शर्मा, सूचना प्रविधिविज्ञ प्रकाश रायमाझी नियुक्त भएका छन् । एउटा प्रधानमन्त्रीका लागि एक जना प्रेस सल्लाहकार र उनलाई सघाउने एक जना संयोजक भए पुग्ने हो । तर, विभिन्न नामका पद सिर्जना गर्दै निकटस्थ पोसिएको छ ।

सूचना विज्ञ प्रकाशले चढ्ने किया गाडीको भुक्तानीका लागि कम्पनीले पटक–पटक ताकेता गर्दै आएको छ । तिर्नुको सट्टा उल्टै धम्क्याउने गरेपछि सोरुमका मान्छेहरू ‘कसलाई भनौँ ?’ भन्दै हिँडेका छन् । कर्मचारीवृत्तमा बदनामी कमाएका सहसचिव नवराज ढुंगाना, शाखा अधिकृतहरू सागर केसी, सन्तोष ढुंगाना र मोहोदत्त अधिकारीहरू सचिवालयमा सक्रिय छन् । पटक–पटक अवसर पाएका नातेदार, अनि गंगालाई आर्थिक चलखेलमा सहजीकरण गर्नेेलाई मात्र बालुवाटारमा इन्ट्री गराइएको छ । फलतः पार्टीका कतिपय स्थायी समितिको सदस्यले समेत प्रचण्डले भेट्ने अवसर नपाउँदा व्यापारी र दलालहरूलाई भने प्रचण्डको बेडसम्म पुग्नका लागि समय लिनु नपर्ने स्थिति छ । यो रोग खुमलटारदेखिकै हो । यता, काठमाडौंमा बाबुको सचिवालयमा बसेर छोरीको त्यस्तो ढलिमली छ । कोशी प्रदेशमा स्थानीय पार्टीको रुचिबेगर मन्त्री बनाइएका ज्वाइँ तथा गंगाका पति जीवन आचार्यलाई प्रदेशको मन्त्रीमा त्यति स्वाद छैन, ससुरालाई व्यापारी भेटाएर फाइदा लिने ध्याउन्नमा हुन्छन् । 
 

टिप्पणीहरू