एमाले सचिव रायमाझी फरार, प्रहरी परिसर काठमाडौँका प्रवक्ता भन्छन् - जहाँ पुगे पनि छोडदैनौँ

एमाले सचिव रायमाझी फरार, प्रहरी परिसर काठमाडौँका प्रवक्ता भन्छन् - जहाँ पुगे पनि छोडदैनौँ

नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन् । पक्राउ पुर्जी जारी भएकै दिन सभामुख देराज घिमिरेसँगै गृहजिल्ला अर्घाखाँचीको यौटा कार्यक्रममा देखिएका उनी त्यसपछि सम्पर्कबिहीन भएका हुन् । 

अर्घाखाँचीमा उनले आफैँ प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सघाउने बताएका थिए । त्यसपछि सभामुखको टोलीसँगै फर्किने तयारीका साथ त्यहाँबाट हिँडेका उनी काठमाडौँ आएनन् । हिजो उनी बुटवल पुगेको र त्यहिँ पक्राउ परेको खबर बाहिरियो । तर, हिजो दिनभर सम्पर्कमा नरहेका रायमाझी आज पनि यतिबेलासम्म पक्राउ परेका छैनन् । हिजोबाट उनको फोनसमेत स्विचअफ रहेको बताइन्छ ।

आफैँ प्रहरीमा आउने बताएर रायमाझीले झुक्याएको र अहिले फरार रहेको प्रहरीको भनाई छ । प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार रायमाझीको भनाईलाई विश्वास गर्दा पक्राउ गर्न ढिलाई भएको हो । आज बिहानैदेखि भने उनको खोजीमा प्रहरी थप सक्रिय भैसकेको रिजालले बताउनुभयो । 

कतिपयले भने राजनीतिक नेतृत्वले रायमाझीलाई जोगाउन खोजेको संकेत पाएपछि प्रहरी हच्किएको आशंका गरेका छन् । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चासो राख्नुभएको थियो । उपप्रधानमन्त्री भैसकेको व्यक्तिलाई बाटोबाटै समात्न खोज्नु रहस्यमय भएको भन्दै उहाँको असन्तुष्टि सार्वजनिक भएको छ । त्यसपछि प्रहरीले रायमाझीलाई पक्राउ गर्न नचाहेको आशंका गरिएको छ । 

तर, प्रहरीले भने यस प्रकरणमा कुनैपनि राजनीतिक दबाबमा नपर्ने प्रष्ट पारेको छ । बुधाबार नै पक्राउ पर्नुपर्ने व्यक्ति आजसम्म किन पक्राउ नपरेको भन्ने प्रश्नमा प्रहरी परिसर काठमाडौँका प्रवक्ता रिजाल भन्नुहुन्छ, 'आमरुपमा आशंका हुनु स्वाभाविक हो, तर हामी  जसरी पनि पक्राउ गरेरै छाड्छौँ, ढुक्क हुनुस् उहाँ छिट्टै पक्राउ पर्नुहुन्छ ।' 

नेता रायमाझीलाई पक्राउ नगर्न कुनै राजनीतिक दबाब नआएको पनि उहाँले प्रष्ट पार्नुभयो । 'किन समातिएन भनेर आशंका हुनु स्वभाविकै हो', रिजालले भन्नुभयो 'तर यसमा प्रहरी क्लिएर छ, कुनै दुविधामा छैन । मलाई लाग्छ छिट्टै पक्राउ पर्नुहुन्छ ।' 

परिसरका प्रवक्ताले छिट्टै पक्राउ गर्छौं भनिरहँदा रायमाझी अहिले कहाँ छन् भन्ने खुलेको छैन । 'हामीलाई पनि उहाँ कहाँ हुनुहुन्छ भन्ने अहिले जानकारी छैन । केही टेक्निकली अप्ठेरो छ, तर मलाई विश्वास छ हामी छिट्टै पक्राउ गर्छौं', प्रवक्ता रिजालको भनाई छ । 

त्यसो त यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पनि अहिलेसम्म प्रहरी पक्राउ गरेको छैन । उनीपनि फरार छन् । 

यस प्रकरणमा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, त्यतिबेलाका गृहसचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे र नेता रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । इन्द्रजितले प्रहरी अनुसन्धानका क्रममा बादलको नामसमेत पोलेको उच्च प्रहरी स्रोतको भनाई छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग एमाले सचिव रायमाझीको राजनीतिक साँठगाँठ र उनका छोरा सन्दीपको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । गिरोहका सदस्यले सन्दीपका नाममा काटेको चेक सार्वजनिक भएको छ । अनुसन्धानका क्रममा अन्य कारोबार पनि खुलेको दाबी गरिएको छ ।  

प्रहरीले पक्राउ परेका सबैमाथि अनुसन्धान भैरहेको र उनीहरुको बयानले रायमाझीको पनि संलग्नता देखिएको दाबी गरेको छ । उच्च प्रहरी स्रोतले भन्यो, 'अहिले बयान दिनेहरुले धेरैको नाम लिएका छन्, सायद यो कुरा बुझेरै उहाँ (रायमाझी) फरार हुनुभएको होला ।'

टिप्पणीहरू